© 2026
बर्दघाट ।
जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
टस जिती पहिले ब्याटिङ रोजेको अफगानिस्तानले कमजोर प्रदर्शन ग¥यो । पहिलो ओभरमै विकेट गुमेपछि दबाबमा परेको अफगानिस्तानको लागि फैजल खान र नाजिबुल्लाह जद्रानले समान ३०–३० रनको योगदान गरे । नाँगेयालिया खानले १७ बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।
अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए । अफगानिस्तान २० ओभर खेल्दै ७ विकेटको क्षतिमा मात्र १ सय २ रनमा समेटियो ।
१ सय ३ रनको लक्ष्य भेटाउन मैदानमा उत्रिएको नेपाललाई पहिलो बलमै झट्का लागेको थियो । ओपनर कुशल भुर्तेल पहिलो बलमै फरिदिनको बलमा जाद्रानबाट समातिए सँगै मैदानबाट बाहिरिएका थिए ।
पहिलो बलमै विकेट गुमेर दबाबमा परेको नेपालको लागि आशिफ शेखको रन बटुल्ने अपेक्षा भए पनि उनी २ रन बनाउँदै पवेलियन फर्केका थिए । सन्दिप जोराले ३४ रनको पारी खेल्दै टिमलाई जिततर्फ डोहो¥याएका थिए ।
मध्य क्रमका रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले सम्हालिँदै ब्याटिङ गर्दै टिमको जित सुनिश्चित गरे । पौडेलले अविजित ३३ र ऐरीले १५ रन बटुले । नेपालले १ सय ३ रनको लक्ष्य ५ विकेटको क्षतिमा १७ दशमलव २ ओभर खेल्दै भेटाएको थियो ।
अफगानिस्तानको लागि फरिदुन, अरव गुल र अब्दुल्लाहले समान १–१ विकेट लिएका थिए ।
नेपालले यसअघि अफगानिस्तानलाई सन २०१४ मा बङ्गलादेशमा सम्पन्न टि ट्वान्टी विश्वकपमा पराजित गरेको थियो ।
नेपालले दोस्रो खेल जापानसँग शनिवार बिहान खेल्ने छ ।