© 2026
काठमाडौँ ।
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।
बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको राससलाई जानकारी दिए । यस्तै, मौसमका कारण माउण्टेन फ्लाइटसमेत स्थगित भएको छ ।
हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीका साथै भारतको वनारस र कलकत्तामा उडान भर्दै आएको छ ।
यस्तै, यती एयरलाइन्सले आज सूचना जारी गरी प्रतिकूल मौसमका कारण यति एयरलाइन्सका उडान ढिलाइ र समय परिवर्तन हुनसक्ने जनाएको छ । यती एयरलाइन्सले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि एयरलाइन्सको वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो जानकारी जाँच गर्न अनुरोध गरेको छ ।
भिटिविलिटी कम हुँदा यतीको पोखरा उडान हुन नसकेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । मौसमका कारण अन्य गन्तव्यस्थलको पनि उडान समयमा हुन नसकेको प्रवक्ता बर्तौैलाले बताए । आन्तरिक उडान अवरुद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको चाप बढेको छ ।