© 2026
बुटवल । सरकारले आगामी माघ १ गतेदेखि मासु जाँच ऐन कार्यान्वयनमा ल्याउने तयारी गरे पनि त्यसका लागि आवश्यक पूर्वाधार, प्राविधिक तयारी र व्यवसायीलाई आवश्यक जानकारी तथा प्रशिक्षणको अभाव रहेको मासु व्यवसायीले बताएका छन् ।
मासु व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउन व्यवसायी, स्थानीय तह र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा सहभागीले जोड दिएका छन् ।
मासु व्यवसायी संघ नेपाल, रूपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको ‘मासु जाँच ऐनको कार्यान्वयन, मासुको गुणस्तरीय सुधार र व्यवस्थापन’ विषयक अन्तरक्रिया तथा छलफलमा व्यवसायीले ऐन कार्यान्वयनअघि आवश्यक तयारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।
मासु व्यवसायी संघ नेपाल रूपन्देहीका अध्यक्ष विशाल थापाले सरकारले रूपन्देहीसहित देशभर माघ १ गतेदेखि मासु जाँच ऐन कार्यान्वयन गर्ने बताए पनि त्यसका लागि पर्याप्त तयारी नभएको बताए । ठूला सहरमा ऐन कार्यान्वयनको सम्भावना भए पनि ग्रामीण क्षेत्रमा आवश्यक पूर्वाधार र प्राविधिक जनशक्ति अभावका कारण तत्काल कार्यान्वयन गर्न कठिन हुने उनको भनाइ थियो ।
“गुणस्तरीय मासु उपलब्ध गराउनु व्यवसायीको प्रमुख दायित्व हो,” उनले भने, “तर ऐन कार्यान्वयन गर्दा व्यवसायीलाई आवश्यक प्राविधिक जानकारी, सहजीकरण र प्रशिक्षण पनि दिनुपर्छ ।”
उनले व्यवसायी र स्थानीय सरकारबीच सहकार्य गरी मासु व्यवसायलाई व्यवस्थित बनाउनुपर्ने बताए । उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न संघ प्रतिबद्ध रहेको भन्दै उनले ऐन कार्यान्वयनका क्रममा व्यवसायीलाई विस्थापित हुने अवस्था सिर्जना गर्न नहुने बताए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले व्यवसायीले आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सके धेरै समस्या समाधान हुने बताइन् । नगरपालिकाले गरेको अनुगमनका क्रममा अपेक्षाअनुसारको अवस्था नदेखिएको भन्दै उनले व्यवसायीलाई सुधारका लागि पटकपटक सचेत गराउँदै आएको जानकारी दिइन् ।
“एक पटक सुधारका लागि अवसर दिइन्छ, तर पटकपटक लापरबाही दोहोरिए कानुनअनुसार कारबाही हुन्छ,” उनले भनिन् ।
उनले मासु व्यवसायीले आफ्ना सहकर्मीलाई समेत सरसफाइ तथा मापदण्ड पालना गर्न सचेत गराएर अनुगमनलाई सहज बनाउन आग्रह गरिन् । नगरपालिकाले बाख्राको मासु बिक्री गर्ने व्यवसायीलाई समेत छिट्टै इजाजतपत्र दिने तयारी गरेको उनले जानकारी दिइन् ।
उपभोक्ता हित संरक्षण मञ्च रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले मासुको गुणस्तर र स्वच्छता उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा लापरबाही गर्न नहुने बताए । मासु पसलको सरसफाइ, मासु परीक्षण, भण्डारण, मूल्य तथा बिक्री–वितरण प्रणालीको नियमित अनुगमन आवश्यक रहेको उनले बताए ।
उपभोक्ताले गुणस्तरीय मासु पाउने अधिकार सुनिश्चित गर्न स्थानीय सरकार, व्यवसायी र उपभोक्ता अधिकारकर्मीबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको जिसीको भनाइ थियो । बुटवल उपमहानगरपालिकाका पशु विशेषज्ञ डा. भागिरथ पुरीले पशु स्वास्थ्य, वधस्थलको सरसफाइ, मासु परीक्षण, भण्डारण तथा बिक्री–वितरणका क्रममा अपनाउनुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्डबारे जानकारी दिए । उत्पादनदेखि उपभोक्तासम्म पु¥याउने सम्पूर्ण प्रक्रियामा सावधानी अपनाउन सके स्वच्छ र गुणस्तरीय मासु उपलब्ध गराउन सकिने उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाको अनुगमन शाखा प्रमुख लक्ष्मी अर्याल, बसना बिसी, व्यवसायी लक्ष्मण श्रेष्ठ, मासु व्यवसायी संघ नेपाल रूपन्देहीका महासचिव थानेश्वर सुवेदी र उपाध्यक्ष सुनिता थापालगायतले मासु व्यवसायको व्यवस्थापन, ऐन कार्यान्वयन र व्यवसायीका समस्याबारे धारणा राखेका थिए ।