© 2026
चन्द्रौटा । कपिलवस्तुको बाणगंगा नदीमा एक पुरुष बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका–८ मधुवनधामका करिब ५० वर्षीय नारायण बेल्वासे शुक्रबार दिउँसो नदीमा हाम्फालेपछि बेपत्ता भएका हुन् । स्थानीयका अनुसार दिउँसो करिब ३ बजे बेल्वासे बाणगंगा नदीको पुलमा पुगेका थिए ।
उनले पुलमै कपडा खोलेर नदीमा हाम्फालेका हुन् । नदीमा हाम्फालेपछि केही परसम्म उनलाई बगिरहेको स्थानीय प्रत्यक्षदर्शीले देखिएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नदीमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब निरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।
प्रहरीका अनुसार बेल्वासेको खोजीका लागि प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा इलाका प्रहरी कार्यालय पिपराबाट १५ जना, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा ११ जना र प्रहरी नायब निरीक्षक इन्द्रप्रसाद सुवेदीको नेतृत्वमा १० जना गरी ३६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । सूचना अधिकारी निरीक्षक सिंहले उक्त घटनाबारे थप अुनसन्धान भइरहेको बताउँदै नदीको बहावसहित सम्भावित क्षेत्रमा खोजी भइरहेको बताए ।