Butwal Today

समुन्नत समाज निर्माणका लागि ज्येष्ठ नागरिकप्रति सम्मान महत्वपूर्ण

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

दाङ । ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र जीवन भोगाइलाई सामाजिक पूँजीका रूपमा उपयोग गर्दै समाज रूपान्तरणमा जोड्ने उद्देश्यले लमहीमा गोरक्षधाम ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिएको छ। केन्द्रका अध्यक्ष रतनकुमार केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा केन्द्रको उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा मन्त्री थारुले धन आर्जनको अस्वस्थ प्रतिस्पर्धाका कारण ज्येष्ठ नागरिक प्राथमिकतामा नपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताए। उनले समुन्नत समाज निर्माणका लागि ज्येष्ठ नागरिकप्रति सम्मान, सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकमैत्री वातावरण निर्माण गर्न सबैको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे। उनले समाज रूपान्तरणमा ज्येष्ठ नागरिकले पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभव नयाँ पुस्तासम्म पुर्‍याउन मिलन केन्द्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो।

केन्द्रका अध्यक्ष रतनकुमार केसीका अनुसार आगामी दिनमा हरेक तीन महिनामा स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकका लागि तीर्थयात्रा, संगीत कक्षा सञ्चालन गर्नुका साथै केन्द्रलाई सहयोग गर्ने दातालाई सम्मान गर्ने कार्यक्रम अघि सारिएको छ।कार्यक्रममा ज्येष्ठ नागरिक सञ्जाल लमही–६ का अध्यक्ष सूर्यराज गौतम, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, एमाले लमही नगर सचिव पवन शर्मा रिजाल, नेपाली कम्युनिस्ट पार्टी लमहीका सहसंयोजक विश्व अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी लमहीका अध्यक्ष रोशन खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण केन्द्रका सचिव भानु जोशीले गरेका थिए भने सदस्य कुमार घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

केन्द्रले ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला भएर अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूको सामाजिक सहभागिता बढाउने लक्ष्य राखेको छ। जीवनभर आर्जन गरेको ज्ञान र अनुभव नयाँ पुस्तासँग जोड्न सके परिवार, समुदाय र समाजलाई थप समृद्ध बनाउन सकिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?