Butwal Today

कम्प्युटर ल्याबसहित नित्यानन्द माविको चारकोठे नयाँ भवन निर्माण हुँदै

९ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

नवलपरासी । विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले नित्यानन्द माध्यमिक विद्यालयमा दाताहरूको सहयोगमा चारकोठे नयाँ भवन निर्माण सुरु भएको छ। भवनमा कम्प्युटर ल्याब, स्मार्ट बोर्ड तथा शुद्ध खानेपानीको समेत व्यवस्था गरिने भएको छ। भवन निर्माणको लायन्स इन्टरनेशनल एलसीआईएम एरिया लिडर अरुणप्रसाद रानाले शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रममा रानाले लायन्सले विगतदेखि नै शिक्षा क्षेत्रमा विभिन्न काम गर्दै आएको उल्लेख गर्दै विद्यालयको पूर्वाधार निर्माणमा गरिएको सहयोगले विद्यार्थीको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

भवन निर्माणका लागि लायन्स क्लब अफ बुटवल, लायन्स क्लब अफ बुटवल तिलोत्तमा र चौधरी फाउन्डेसनबीच लागत साझेदारी गरिएको छ परियोजना अन्तर्गत लायन्सले भवन निर्माणका लागि ७९ लाख ९१ हजार रुपैयाँ खर्च गर्ने भएको छ। त्यसैगरी चौधरी फाउन्डेसनले शुद्ध खानेपानी व्यवस्थापन, स्मार्ट बोर्ड जडान तथा कम्प्युटर ल्याब निर्माणका लागि १२ लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने भएको फाउन्डेसनकी सचिव सारिका चौधरीले जानकारी दिईन।

भवनमा आवश्यक फर्निचर व्यवस्थापनका लागि नित्यानन्द माध्यमिक विद्यालयले समेत १२ लाख ३५ हजार रुपैयाँ खर्च गर्ने भएको छ। सचिव चौधरीका अनुसार परियोजना अघि बढाउन नवलपरासी–१ का पूर्व सांसद विनोदकुमार चौधरीको विशेष पहल रहेको उनले बताईन। विभिन्न संस्था, फाउन्डेसन र विद्यालयको लागत सहभागितामा अघि बढाइएको परियोजनाले विद्यालयको भौतिक पूर्वाधारसँगै सूचना प्रविधिमा आधारित शिक्षण सिकाइलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

चारकोठे नयाँ भवनसँगै कम्प्युटर ल्याब, स्मार्ट बोर्ड र शुद्ध खानेपानीको सुविधा थपिएपछि विद्यार्थीले थप सुरक्षित, प्रविधिमैत्री र अनुकूल वातावरणमा अध्ययन गर्ने अवसर पाउने विद्यालयले जनाएको छ।विद्यालय निर्माणको सिर्जना सर्विस एण्ड विल्डर्सले ६ महिनामा निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?