Butwal Today

भारी वर्षाको पूर्वानुमानसँगै लुम्बिनीमा पूर्व तयारी

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

बुटवल ।  मौसम विज्ञान विभागले असोज ९ गतेदेखि केही दिन लुम्बिनी प्रदेशसहित विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि लुम्बिनी प्रदेश सरकारले सम्भावित बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि पूर्व तयारी थालेको छ ।

मुख्यमन्त्रीले अपिल जारी गर्दै सम्भावित विपत्बाट जोगिन सतर्कता अपनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् । प्रदेश सरकार, आन्तरिक मामिला, कानुन, कृषि तथा यातायात मन्त्रालयले विशेष मौसम बुलेटिनलाई आधार बनाएर सम्बन्धित जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई आवश्यक तयारी गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार भारी वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहाव र तराई तथा सहरी क्षेत्रमा डुबानको जोखिम हुनसक्ने भएकाले जोखिमयुक्त स्थानमा विशेष निगरानी र पूर्व तयारी आवश्यक छ । जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, वडा कार्यालय, आपत्कालीन कार्य सञ्चालन केन्द्र र सुरक्षा निकायलाई पूर्वसूचनाका आधारमा आवश्यक प्रतिकार्यको तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

सम्भावित पहिरो तथा सडक अवरोधलाई ध्यानमा राख्दै जोखिमयुक्त राजमार्ग तथा सडक खण्डमा डोजर, एक्स्काभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । सडकमा पहिरो, ढुंगा खस्ने, सडक भासिने वा पानीको बहाव बढेको अवस्थामा जोखिम मोलेर बाटो पार नगर्न र सुरक्षित स्थानमा रोकिन आग्रह गरिएको छ ।

मन्त्रालयले विशेषगरी रातिको समयमा अत्यधिक वर्षा भइरहेको अवस्थामा जोखिमयुक्त सडकमा सवारीसाधन नचलाउन आग्रह गरेको छ । यात्रा गर्नुअघि सडकको अवस्था, स्थानीय प्रशासन तथा यातायातसम्बन्धी सूचना बुझेर मात्र यात्रा गर्नसमेत अनुरोध गरिएको छ ।पूर्वसूचनाका आधारमा जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई आवश्यक पहल गर्न भनिएको छ । नदी तथा खोलाको किनारमा बसोबास गर्ने नागरिकलाई पानीको सतह तीव्र रूपमा बढेमा, पानी धमिलो भएमा, ढुंगा वा रुख बगाउँदै आएको देखिएमा वा असामान्य आवाज सुनिएमा तत्काल सुरक्षित स्थानतर्फ जान मन्त्रालयले आग्रह गरेको छ ।

सम्भावित विपत्मा बढी जोखिममा पर्नसक्ने गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सहयोग आवश्यक पर्ने अन्य व्यक्तिको पहिचान गरी उनीहरूको सुरक्षित स्थानान्तरणका लागि आवश्यक व्यवस्था मिलाउन पनि भनिएको छ ।
त्यस्तै, पशुपन्छी, खाद्यान्न, औषधी, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न मन्त्रालयले अनुरोध गरेको छ । किसानलाई पनि मौसमको पूर्वानुमानअनुसार खेतीपातीसम्बन्धी आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रदेश सरकारले सर्वसाधारणलाई नेपाल मौसम विज्ञान विभाग, गृह मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा हेर्न तथा सम्बन्धित निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ ।आपत्कालीन अवस्थामा वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोग आवश्यक परेमा १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सतर्कता, पूर्व तयारी र समयमै सुरक्षित स्थानान्तरणलाई प्राथमिकता दिन प्रदेशवासीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?