© 2026
दाङ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले चालू आर्थिक वर्षमा मन्त्रालयअन्तर्गत सञ्चालित योजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउँदै समयमै गुणस्तरीय काम सम्पन्न गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन। बुधबार मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा मन्त्रालय मातहतका कार्यालय प्रमुखहरूसँग चालू आर्थिक वर्षका योजना कार्यान्वयनको अवस्थाबारे जानकारी लिँदै मन्त्री खत्रीले विकास निर्माणका काममा ढिलासुस्ती हुन नदिन निर्देशन दिएका छन।
कार्यक्रममा मन्त्री खत्रीले योजनाहरूको कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौती पहिचान गरी समाधानका लागि आवश्यक पहल गर्न कार्यालय प्रमुखहरूलाई आग्रह गरे । उनले योजना कार्यान्वयनमा कुनै कठिनाइ देखिएमा मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खत्रीले विकास निर्माणका काममा गुणस्तर कायम गर्नुका साथै निर्धारित समयभित्रै योजना सम्पन्न गर्नुपर्नेमा जोड दिए। प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेका भौतिक पूर्वाधारसम्बन्धी योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि कार्यालय प्रमुखहरू जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव राम पराजुलीसहित कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रममा चालू आर्थिक वर्षमा हालसम्म भएका प्रगतिको समीक्षा गर्नुका साथै बहुवर्षीय तथा सम्पूरक योजनाहरूको कार्यान्वयन अवस्थाबारे जानकारी लिइएको थियो । त्यसैगरी योजना कार्यान्वयनका क्रममा देखिएका चुनौती, समस्या समाधानका उपाय तथा कार्यालयहरूले हासिल गरेका अनुभवबारे समेत छलफल भएको थियो । सहभागी कार्यालय प्रमुखहरूले आ–आफ्नो कार्यालयअन्तर्गत सञ्चालित योजनाहरूको प्रगति, कार्यान्वयनमा देखिएका समस्या तथा आगामी कार्यदिशाबारे जानकारी गराएका थिए । मन्त्रालयले योजना कार्यान्वयनलाई नियमित अनुगमन तथा समन्वयमार्फत थप प्रभावकारी बनाउने जनाएको छ ।