Butwal Today

कपिलवस्तुमा १७ लाखको ल्यापटप डिस्प्ले बरामद

७ आश्विन २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा। कपिलवस्तुमा ल्यापटप डिस्प्ले स्क्रिन प्यानल बरामद गरिएको छ । कृष्णनगरबाट प्रहरीले १६ लाख ८० हजार रुपैयाँ बराबरको प्यानल बरामद गरेको हो । प्रहरीका अनुसार बुधबार बिहान करिब २ बजे कृष्णनगर(१२ हरिदवातर्फ गस्ती गर्ने क्रममा सडक छेउमा बेवारिसे अवस्थामा २४० थान ल्यापटप डिस्प्ले फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको टोलीले बरामद डिस्प्लेको प्रतिथान अनुमानित मूल्य सात हजार रुपैयाँका दरले १६ लाख ८० हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए । उनका अनुसार सोही स्थानबाट यूपी ५५ एडी ५६२१ नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ । मोटरसाइकलको अनुमानित मूल्य एक लाख ५० हजार रुपैयाँ रहेको छ । दुवैको कुल अनुमानित मूल्य १८ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार बरामद सामान र मोटरसाइकल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याइएको थियो । थप अनुसन्धानपछि बुधवार दिउँसो ३ः४० बजे आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको छ । घटनामा संलग्न व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?