© 2026
दाङ । असोज ९ गतेदेखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमानसँगै दाङमा विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय र प्रशासनले पूर्वतयारी तीव्र पारेका छन्। सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेडक्वाटर भालुबाङले राप्ती नदीको तटीय क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई नदी किनारमा नजान र सुरक्षित रहन आग्रह गरेको छ।
गणका प्रमुख एसपी यदु कार्कीका अनुसार डीएसपी बाबुराम थापाको कमान्डमा खटिएको टोलीले नदी तटीय क्षेत्रमा पुगेर सचेतनामूलक माइकिङ गरेको हो। नदीमा पानीको सतह बढ्नसक्ने भएकाले माछा मार्न, दाउरा तान्न तथा गाईवस्तु चराउन नदी किनारमा नजान आग्रह गरिएको छ। नदीमा पानीको बहाव बढेको, पानी धमिलो भएको, ढुंगा तथा रूख बगाउँदै आएको वा असामान्य आवाज सुनिए तत्काल अग्लो तथा सुरक्षित स्थानमा जानसमेत सशस्त्र प्रहरीले आग्रह गरेको छ।
लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले पनि असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ। र्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छमन्त्रालयका निमित्त सचिव सुरेशचन्द्र आचार्यका अनुसार प्रदेशका १२ वटै जिल्ला र १०९ स्थानीय तहलाई पत्राचार गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय दाङले बाढी, पहिरो, डुबान र कटानको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रशासनले अत्यावश्यक कामबाहेक टाढा तथा रात्रिकालीन यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेका अनुसार राप्ती, बबईलगायत जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको छ।