© 2026
काठमाडौँ। बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यही असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरिएको छ । हाल विभिन्न स्थानमा वर्षा भइरहेको अवस्थामा सम्भावित जोखिमप्रति सतर्क रहन मन्त्रालयले अनुरोध गरेको हो ।
स्वास्थ्य मन्त्रालयले निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्य बढ्न सक्ने भएकाले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न आग्रह गरेको हो । साथै, आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र सम्भावित विपद्का समयमा सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ । मन्त्रालयले बिरामी स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय तथा सञ्चालनलाई प्रभावकारी बनाउन र आवश्यकताअनुसार सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक सहजीकरण गर्न पनि अनुरोध गरेको छ ।