© 2026
दोहा (कतार) ।
कतारमा स्थापना भएका सामाजिक सङ्घ संस्था मध्यकै पुरानो र कतारमा पहिलो स्थापना भएको सामाजिक संस्था खोटाङ सेवा समाज कतारले ‘१३औँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम’ को आयोजना गर्ने भएको छ ।
“प्रवासको पसिना, स्वदेशको साकार सपना” भन्ने मूल नाराका साथ कतारमा रहेका खोटाङका जिल्ला वासीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिमा अत्यन्तै सक्रिय रूपमा रहँदै आएको संस्थाले आगामी शुक्रवार अधिवेशन गर्न लागेको हो ।
शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा खोटाङको संस्कृति र कला झल्किनुका साथै कतारमा रहेका स्थानीय कलाकारहरूको समेत विविध साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू समेत रहने छ । जसले कार्यक्रमलाई अझ भव्य सांगीतिकमय र थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ। १३ औ अधिवेशन भव्य र साङ्गीतिक माहौलका साथ सम्पन्न गर्न व्यापक तयारी भइरहेको समाजका कार्यवाहक अध्यक्ष पर्शुराम श्रेष्ठले जानकारी दिएका छन् ।
आगामी २५ सेप्टेम्बरका दिन प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे देखि कार्यक्रम हुने कार्य तालिका रहेको छ । समाजले सम्पूर्ण खोटाङवासी तथा कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ,संस्था बुद्धिजीवी तथा समाजसेवीहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ ।
सन् २००४ मा स्थापना भएको यो संस्था कतारमा रहेका नेपाली सामाजिक संस्थाहरूमध्येकै जेठो संस्था मानिन्छ ।