© 2026
लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयका चिनियाँ भाषा तथा भोट बौद्ध अध्ययन कार्यक्रममा अध्ययनरत ३१ जना विद्यार्थी एकवर्षे अध्ययन तथा आदानप्रदान कार्यक्रमका लागि चीनको हाईनान प्रान्तस्थित सान्या सहरमा रहेको नानहाई बौद्ध एकेडेमीतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्ने ३१ विध्यार्थी भोट बौद्ध अध्ययनतर्फका ९ जना लामा र १ जना आनी तथा २१ जना गृहस्थ विद्यार्थी रहेका छन्। चीन जाने विद्यार्थीहरूले चिनियाँ भाषामा आधारभूत दक्षता हासिल गरेका छन्। २१ जना गृहस्थ विद्यार्थीले चिनियाँ भाषा दक्षता परीक्षाको तेस्रो तह उत्तीर्ण गरेका छन् भने १० जना लामा तथा आनीले दोस्रो तह उत्तीर्ण गरेका छन्।
अध्ययन–आदानप्रदानका क्रममा विद्यार्थीहरूले चिनियाँ भाषा, चिनियाँ बौद्ध संस्कृति तथा सम्बन्धित विषयहरू अध्ययन गर्नेछन्। यसबाट चीनको संस्कृति बुझ्न तथा अन्तरसांस्कृतिक संवादको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयबाट नानहाई बौद्ध एकेडेमीमा विद्यार्थी अध्ययन–आदानप्रदानका लागि पठाइएको यो चौथो वर्ष हो। विगत तीन वर्षमा विश्वविद्यालयबाट उक्त एकेडेमीमा अध्ययन तथा आदानप्रदानका लागि जाने विद्यार्थीको संख्या १०० नाघिसकेको विश्वविद्यालयले जनाएको छ।
कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शिक्षण शुल्क लाग्ने छैन भने नानहाई बौद्ध एकेडेमीले उनीहरूको आवास तथा भोजनको व्यवस्था निःशुल्क गर्नेछ। लुम्बिनी क्षेत्रमा चिनियाँ भाषामा दक्ष जनशक्तिको आवश्यकता रहेकाले विश्वविद्यालयले नानहाई बौद्ध एकेडेमीसहित चीनका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थासँगको सहकार्यलाई थप सुदृढ गर्दै चिनियाँ भाषा शिक्षा र चीन अध्ययनलाई निरन्तर प्रवर्द्धन गर्दै आएको छ। विश्वविद्यालयले चिनियाँ भाषा तथा अन्तरसांस्कृतिक संवादमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल–चीनबीचको जनस्तरीय तथा सांस्कृतिक आदानप्रदानमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।