© 2026
बुटवल ।
काठमाडौँ महानगरपालिका–२६ भेडासिंहबाट सुनचाँदीलगायत गरगहनाको अवैध कारोबारमा संलग्न रहेको आशङ्कामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भेडासिंहस्थित एक स्थानमा छापा मार्दा भारतको कोलकाता, हुग्ली, जङ्गलपारा बजार घर भई हाल काठमाडौँ महानगरपालिका–२६ भेडासिंह बस्दै आएका ४१ वर्षीय मानिक दासलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दासको साथबाट सुनजस्तो देखिने पहेँलो धातुबाट बनेका गरगहना एक किलो ४८२ ग्राम ८१० मिलिग्राम बरामद गरिएको छ । बरामद गरगहनामा पत्थर तथा जर्तीसमेत रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, प्रहरीले दासको साथबाट सात लाख ५६ हजार रुपियाँ नगदसमेत बरामद गरेको छ । बरामद गरगहना अवैध रूपमा बिक्री वितरणका लागि भण्डारण गरी राखिएको भन्ने सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको जनाएको छ ।
प्रहरीले सोही क्रममा अवैध रूपमा लुकाइराखिएको भनिएको एउटा गोदाममा समेत छापा मारेको जनाएको छ । गोदामबाट हुक्कामा प्रयोग हुने एक हजार ५२८ प्याकेट सामग्री बरामद गरिएको छ । प्रत्येक प्याकेटमा १० वटा सामग्री रहेको र कुल १५ हजार २८० वटा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, ७३५ थान बट्टासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सबै सामग्रीको प्रकृति तथा प्रयोजनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका दासमाथि बरामद सामग्रीको स्रोत, कारोबार तथा बिक्री वितरणसम्बन्धी विषयमा अनुसन्धान अघि बढाएको छ । बरामद पहेँलो धातु सुन नै हो वा होइन भन्ने यकिन परीक्षणबाट हुने प्रहरीले जनाएको छ ।