© 2026
बर्दिया । डेंगी रोगको रोकथाम तथा नियन्त्रणका लागि बढैयाताल गाउँपालिकाले ‘आफू बचौँ, अरूलाई पनि बचाऔँ’ अभियानअन्तर्गत लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । बढैयाताल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार विभिन्न स्थानमा पानी जम्ने सम्भावित क्षेत्रको खोजी गर्दै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो । अभियानमा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
अभियानअन्तर्गत घर, आँगन, विद्यालय, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न सक्ने स्थानको पहिचान गरी पानी जम्ने भाँडा, पुराना टायर, गमला, ड्रमलगायतका सामग्रीको सरसफाइ गरिएको थियो । लामखुट्टेको प्रजननस्थल बन्न सक्ने स्थानमा विशेष निगरानी गर्दै लार्भा नष्ट गर्न स्थानीयलाई समेत सचेत गराइएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले डेंगी नियन्त्रण सरकार वा स्वास्थ्य संस्थाको मात्रै जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताए । घर वरपर पानी जम्न नदिने र आफ्नो टोल तथा समुदाय सफा राख्ने बानी विकास गर्न सके डेंगीको जोखिम घटाउन सकिने उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारुले डेंगी रोकथामका लागि पालिकाले जनचेतनामूलक कार्यक्रमसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान र सरसफाइलाई प्राथमिकता दिएको बताए । ‘आफू बचौँ, अरूलाई पनि बचाऔँ’ भन्ने अभियानलाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए । स्वास्थ्य शाखा प्रमुख रमेश पौडेलले डेंगी फैलाउने लामखुट्टेले सफा जमेको पानीमा समेत प्रजनन गर्ने भएकाले घर तथा कार्यालय वरपर पानी जम्न नदिन आग्रह गरे । उनले पानी जम्ने भाँडा नियमित खाली गर्ने, टायर तथा ड्रम सफा राख्ने र लार्भा देखिए तत्काल नष्ट गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए । स्वास्थ्य शाखाले डेंगी नियन्त्रणका लागि अभियानलाई समुदायस्तरसम्म विस्तार गर्दै लैजाने जनाएको छ । ‘पानी जम्न नदिऔँ, डेंगी फैलिन नदिऔँ’ र ‘लार्भा खोजौँ, नष्ट गरौँ’ भन्ने सन्देशसहित स्थानीयलाई सचेत गराइएको छ ।