Butwal Today

चाडपर्व लक्षित खाद्य स्वच्छता तालिम

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

सिद्धार्थनगर । चाडपर्व नजिकिँदै गर्दा रुपन्देहीका होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न व्यवसायीलाई सचेत गराउन एकदिने तालिम आयोजना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा भएको कार्यक्रममा दशैँ, तिहार र छठ पर्वमा मिठाई तथा खाद्य परिकारको खपत बढ्ने भएकाले सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उत्पादनमा विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गरिएको हो । खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न शुक्रबार भैरहवामा व्यवसायीहरुलाई सचेत तथा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको कार्यालय प्रमुख अनुप हलवाईले बताए । “काम बिग्रिनुभन्दा अगाडि नै कसरी काम नबिगार्ने भन्ने विषयमा सचेतना जगाउने उद्देश्यले तालिम आयोजना गरिएको हो,” हलवाईले भने ।

तालिममा रुपन्देहीका होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका पदाधिकारी, मिष्ठान्न भण्डार, क्याटरिङ व्यवसायी तथा भैरहवा र बुटवल क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरु सहभागी थिए । कार्यालयले होटल तथा रेस्टुरेन्टमा नियमित अनुगमन र चेकजाँच गर्दै आएको जनाएको छ । अनुगमनका क्रममा तेलको गुणस्तर परीक्षण गर्ने उपकरण प्रयोग गर्नुका साथै खाद्य पदार्थको तापक्रम र स्वच्छतासमेत जाँच गर्ने गरिएको कार्यालयले जनाएको छ । भैरहवा, बुटवल र तिलोत्तमालगायत क्षेत्रमा गरिएको अनुगमनका क्रममा एउटै तेल पटक–पटक प्रयोग गर्ने प्रवृत्ति देखिएको र पटक–पटक प्रयोग गर्दा तेलको गुणस्तर खस्किने भएकाले त्यस्ता तेल नष्ट गर्ने गरिएको हलवाइ बताउछन् ।

त्यस्तै, चाडपर्वमा मिठाईमा अत्यधिक रङ प्रयोग गर्ने समस्या पनि देखिने गरेको छ । तोकिएकोभन्दा बढी रङ प्रयोग गरिएका मिठाई तथा रङसमेत अनुगमनका क्रममा नष्ट गर्ने गरिएको कार्यालयले जनाएको छ ।केही होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी र म्याद गुज्रिएका मसला प्रयोग भएकोसमेत भेटिने गरेको हलवाईले बताए । त्यस्ता व्यवसायीलाई सरसफाइ, कीरा नियन्त्रण तथा खाद्य सामग्रीको म्याद जाँचमा विशेष ध्यान दिन सचेत गराउने गरिएको उनले जानकारी दिए । कार्यक्रम संयोजक तथा खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना शर्मा अधिकारीको संयोजनमा सम्पन्न तालिममा खाद्य अनुसन्धान अधिकृत हेमन्त गौतम र खाद्य निरीक्षण अधिकारी सोनीला गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?