© 2026
बाँके । बाँकेको खजुरा गाउँपालिका–२ रिमझिम चोकस्थित भित्री सडकमा इलेक्ट्रिक अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अटो चालक मुकेश वि.क. घाइते भएपछि नेपालगंज स्थित संजीवनी मेडिकल साइन्सेजमा चिकित्सकले मृत घोषण गरेको हुन । प्रहरीका अनुसार भे.२ ह. २१ नम्बरको इलेक्ट्रिक अटो भित्री सडकमा गुडिरहेको अवस्थामा अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको थियो । अटो पल्टिँदा चालक वि.क. गम्भीर घाइते भएका थिए । दुर्घटनालगत्तै घाइते चालकलाई उपचारका लागि सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज प्रा.लि., नेपालगन्ज अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि चिकित्सकले वि.क.लाई मृत घोषणा गरेको जनाइएको छ ।
दुर्घटनाका बेला अटोमा चालकसहित पाँच जना सवार रहेको बताइएको छ । अटोमा सवार अन्य चार जना भने सकुशल रहेका छन् । उनीहरूलाई सामान्य स्वास्थ्य परीक्षणपछि आवश्यक प्रक्रिया पूरा गरी पठाइएको जनाइएको छ । भित्री सडकमा अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक विवरण आए पनि दुर्घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । अटो तीव्र गतिमा रहेको, सडकको अवस्था वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।
दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले अटो नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । मृतकको शव परीक्षण तथा कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको जनाइएको छ । बाँकेका ग्रामीण तथा बजार क्षेत्रका भित्री सडकमा पछिल्लो समय इलेक्ट्रिक अटोको आवागमन बढ्दै गएको छ । यात्रु बोक्ने अटोको संख्या बढेसँगै चालकले गति नियन्त्रण तथा सडक सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने आवश्यकता देखिएको छ । पछिल्लो दुर्घटनाले ग्रामीण सडकमा सवारी सञ्चालन गर्दा थप सावधानी अपनाउनुपर्ने देखाएको स्थानीयवासीले बताएका छन् ।