Butwal Today

अदालतमा आगजनी र हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गर्न माग

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी तथा बारा र नवलपरासीमा भएका हत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

बैठकको शून्य समयमा सदस्य विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा दिनप्रतिदिन आगलागीका घटना बढिरहेको भन्दै त्यसको न्यायिक छानबिन गर्न माग गरे ।

सदस्य पूजा चौधरीले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्यामा संलग्न केही व्यक्तिलाई सामान्य तारेखमा छाडिएको भन्दै घटनाबारे निष्पक्ष छानबिन गर्न माग गरिन् ।

त्यस्तै, सदस्य रुक्मिणी कोइरालाले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–३ मा शेरबहादुर विकले तीजका दिन श्रीमती उनीमायाको हत्या गरेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरिन् ।

सदस्य श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीबाट प्रभावित रसुवाको आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकामा तत्काल दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र औषधिको सहज आपूर्ति गर्न तथा सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?