© 2026
रोल्पा । रोल्पा नगरपालिकाले स्थानीय पर्यटनको सम्भावनालाई उजागर गर्दै नगरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी थालेको छ । पर्यटन क्षेत्रको योजनाबद्ध विकास, पर्यटकीय स्थलको पहिचान तथा प्रचारप्रसारलाई प्राथमिकतामा राख्दै नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम अघि बढाउने भएको छ । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन प्रवर्द्धन समिति गठन गरी समितिमार्फत आवश्यक गुरुयोजना निर्माण, पर्यटकीय मार्गको पहिचान, स्थानीय कला–संस्कृति तथा खानाको प्रवर्द्धन र पर्यटक लक्षित प्रचार सामग्री निर्माणलगायतका काम अघि बढाउने निर्णय गरेको हो ।
रोल्पा नगरपालिकाको पर्यटन प्रवर्द्धन समितिको प्रथम बैठक शुक्रबार लिवाङमा सम्पन्न भएको छ । नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा बसेको बैठकले रोल्पा नगरपालिकालाई पर्यटन प्रवर्द्धनका क्षेत्रमा अग्रसर बनाउन विभिन्न योजना तथा कार्यक्रमबारे छलफल गरेको थियो ।बैठकमा नगरभित्र रहेका तथा सम्भावना बोकेका पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटकीय मार्ग निर्माण तथा विकास गर्ने विषयमा छलफल भएको थियो । त्यस्तै ‘रोल्पा घुम्न आउँ’ अर्थात् ‘वेलकम टु रोल्पा’ अभियान सञ्चालन गर्ने, ‘गुलाबको शहर’ अवधारणालाई अघि बढाउने तथा रोल्पाको इतिहास, संस्कृति र जनयुद्धसँग जोडिएका विषय समेटेर ‘जनयुद्ध हाते पुस्तिका’ निर्माण गर्ने विषयमा समेत छलफल भएको नगरपालिकाले जनाएको छ ।
पर्यटन प्रवर्द्धनका लागि ट्रान्स हिमालय हिल स्टेशन निर्माणको अवधारणालाई अघि बढाउने, पर्यटकीय ब्रोसर निर्माण गरी नगरका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने तथा सातदोबाटो शान्ति बाटिकाको सौन्दर्यीकरण गर्ने विषयलाई पनि बैठकले प्राथमिकतामा राखेको छ ।पर्यटकलाई लक्षित गरी स्थानीयस्तरमा आवश्यक आतिथ्यता तथा सेवासम्बन्धी सीप विकास गर्न हस्पिटालिटी तालिम सञ्चालन गर्ने र रोल्पामा पाइने मौलिक तथा रैथाने खानाको प्रवर्द्धन गर्ने विषयमा समेत समितिले छलफल गरेको थियो । पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न स्थानीय उत्पादन, संस्कृति, खानपान र आतिथ्य सेवाको विकास आवश्यक रहेको बैठकमा सहभागी सदस्यहरूले बताएका थिए ।
बैठकले पर्यटन प्रवर्द्धनका लागि पहिचान गरिएका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन समितिका सदस्यहरूको सक्रियतामा जिम्मेवारी बाँडफाँटसमेत गरेको छ । पर्यटनका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यलाई आ–आफ्नो क्षेत्रसँग सम्बन्धित काममा सक्रिय बनाउने गरी जिम्मेवारी तोकिएको हो ।यसैबीच रोल्पा नगरपालिकाको नगर कार्यपालिकाको नियमित बैठकसमेत सम्पन्न भएको छ । नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा बसेको बैठकले विभिन्न प्रशासनिक तथा नीतिगत विषयमा निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
बैठकमा विधायन समितिद्वारा पेश गरिएको सार्वजनिक सुनुवाइ सञ्चालन कार्यविधि, २०८३ तथा टोल विकास संस्था गठन तथा परिचालन संशोधन कार्यविधि, २०८३ माथि छलफल गरिएको थियो । छलफलपछि दुवै कार्यविधि पारित गर्दै नगरसभामा पेश गर्ने निर्णय भएको छ ।नगरपालिकाले सार्वजनिक सुनुवाइलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा प्रक्रियागत व्यवस्था गर्ने उद्देश्यले कार्यविधि अघि बढाएको हो । त्यसैगरी टोल विकास संस्थालाई थप व्यवस्थित रूपमा गठन तथा परिचालन गर्न विद्यमान व्यवस्थामा संशोधन गरी नयाँ कार्यविधि नगरसभामा पेश गर्ने निर्णय गरिएको हो ।
बैठकले रोल्पा नगरपालिकाको बसपार्कका विषयमा जिल्लास्थित राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णयसमेत गरेको छ । नगरपालिकाका अनुसार आगामी २९ गते जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग बसपार्कका विषयमा छलफल गरिनेछ ।त्यसैगरी बंगुर पालनका सम्बन्धमा आएका उजुरी तथा निवेदनमाथि आवश्यक छलफल गरी सम्बन्धित वडालाई अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्ने निर्णय भएको छ । स्थानीय तहमा आएका उजुरी तथा निवेदनलाई सम्बन्धित वडा तहबाटै आवश्यक अध्ययन गरी समाधानको प्रक्रिया अघि बढाउने गरी बैठकले निर्णय गरेको हो ।
नगर कार्यपालिकाको बैठकले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै नगर प्रमुख सुरेन्द्र थापा घर्तीको संयोजकत्वमा ११ सदस्यीय पर्यटन प्रवर्द्धन समिति गठन गर्ने निर्णयसमेत गरेको थियो । समितिमा नगर प्रमुख घर्ती संयोजक रहेका छन् भने नगर उपप्रमुख गिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा प्रमुख, पर्यटनविद् तथा पूर्वनगर प्रमुख पूर्ण केसी, वडा अध्यक्ष प्रकाश डाँगी सदस्य रहेका छन् ।त्यस्तै पत्रकार नवीन लोचनमगर, कला तथा संस्कृति क्षेत्रबाट प्राध्यापक अमृत बाँठा, होटल व्यवसायी ज्ञानेन्द्र आचार्य, महिला पर्यटनकर्मी मञ्जु घले र ट्राभल एन्ड टुर क्षेत्रबाट पूर्ण बुढामगर समितिको सदस्यमा रहेका छन् ।
नगरपालिकाले पर्यटन क्षेत्रको विकासमा सरकारी निकायसँगै निजी क्षेत्र, सञ्चार क्षेत्र, पर्यटन व्यवसायी, कला–संस्कृति क्षेत्र तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको जनाएको छ । समितिमा विभिन्न क्षेत्रका व्यक्तिलाई समेटिनुले पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई बहुआयामिक रूपमा अघि बढाउन सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।रोल्पा प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा राजनीतिक दृष्टिले विविध सम्भावना बोकेको जिल्ला हो । स्थानीयस्तरमा रहेका पर्यटकीय स्थलको व्यवस्थित पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार र पर्यटकमैत्री सेवा विस्तार गर्न सके पर्यटनलाई स्थानीय आयआर्जन र रोजगारीसँग जोड्न सकिने अपेक्षा गरिएको छ ।
नगरपालिकाले अघि सारेका कार्यक्रमले रोल्पाका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । पर्यटकीय मार्गको पहिचानदेखि प्रचार सामग्री निर्माण, हस्पिटालिटी तालिमदेखि रैथाने खानाको प्रवर्द्धनसम्मका कार्यक्रमलाई एकीकृत रूपमा अघि बढाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।बैठकमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरूलाई मनोनयनपत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो । पर्यटन प्रवर्द्धन समितिको प्रथम बैठकलाई आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमको आधार तय गर्ने अवसरका रूपमा लिइएको थियो ।
बैठकको सञ्चालन रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले गर्नुभएको थियो । नगरपालिका नेतृत्वले पर्यटनलाई स्थानीय विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने र उपलब्ध सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्ने बताएको छ ।