Butwal Today

जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

भैरहव । जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देहीले असोज ३ गते भैरहवामा आयोजना गर्न लागेको तत्कालीन जसपा रुपन्देही र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रुपन्देहीबीचको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीले आपत्ति जनाएको छ । लोसपा रुपन्देहीका जिल्ला अध्यक्ष रविकुमार रौनियारले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट समायोजनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । उनले तत्कालीन लोसपा रुपन्देहीका नेता तथा कार्यकर्तालाई जसपाले आयोजना गरेको भनिएको समायोजन कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन् । रौनियारले लोसपा रुपन्देहीको निर्णय र सहमतिबिना हुने एकतर्फी समायोजनलाई ‘अवैधानिक र गैरकानुनी’ भएको दाबी गरेका छन् ।

उनका अनुसार समायोजनका विषयमा दुई पक्षबीच संस्थागत रुपमा सहमति र निर्णय नभएको अवस्थामा एक पक्षले मात्र कार्यक्रम आयोजना गर्नु उचित नहुने उनको भनाइ छ ।‘लोसपा रुपन्देही सम्मानजनक समायोजनको पक्षमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर लोसपा रुपन्देहीलाई अवमूल्यन गरी विलय गराउने प्रयासको घोर निन्दा गर्दछौं ।’लोसपा रुपन्देहीले समायोजनका नाममा पार्टीको संगठनात्मक अस्तित्व र निर्णय प्रक्रियालाई बेवास्ता नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । साथै, तत्कालीन लोसपाका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पार्टीको निर्णय नआएसम्म असोज ३ गते हुने भनिएको कार्यक्रममा सहभागिता नजनाउन सूचित गरिएको छ ।

जिल्ला अध्यक्ष रौनियारले समायोजनका विषयमा सम्मानजनक र संस्थागत प्रक्रिया अपनाउनुपर्ने बताएका छन् । उनले दुई दलबीचको समायोजन भएमा दुवै पक्षको सम्मान, प्रतिनिधित्व र सहमतिलाई आधार बनाउनुपर्ने धारणा राखेका छन् । यसैबीच, जसपा रुपन्देहीले भने असोज ३ गते भैरहवामा तत्कालीन जसपा र लोसपाबीचको समायोजन कार्यक्रम गर्ने तयारी गरेको जनाइएको छ । कार्यक्रमको स्वरूप, सहभागी तथा समायोजनको आधिकारिक प्रक्रियाबारे भने दुवै पक्षबीच फरक–फरक दाबी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?