Butwal Today

चन्द्रकोटमा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

गुल्मी । चन्द्रकोट गाउँपालिका, गुल्मीले राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा शैक्षिक सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष एवं शिक्षा समितिका अध्यक्ष युवराज खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वडाध्यक्ष, शिक्षक महासंघ चन्द्रकोटका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रममा शैक्षिक सत्र २०८२ मा चन्द्रकोट गाउँपालिकास्तरीय आधारभूत तह कक्षा ५ र ८ तथा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरबाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसईइमा र कक्षा १२ को वार्षिक परीक्षामा उत्कृष्ट जिपिए हासिल गर्ने १० जना विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। एसईइमा ४.० जिपिए हासिल गर्ने विद्यार्थीलाई रु. २५ हजार नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै, शैक्षिक सत्र २०८२ को एसईइ तथा कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल २२८ जना विषयगत शिक्षकलाई पनि सम्मान गरिएको थियो। गाउँपालिकास्तरीय आधारभूत तह कक्षा ५ र ८ तथा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित एसईइ र कक्षा १२ परीक्षामा सहभागी विद्यालयमध्ये उत्तीर्ण प्रतिशतका आधारमा उत्कृष्ट नतिजा हासिल गर्ने ११ वटा विद्यालयलाई समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा शैक्षिक सत्र २०८२ चैत २९ देखि २०८३ भदौ मसान्तसम्म गाउँपालिकाअन्तर्गतका विद्यालयबाट अवकाश प्राप्त एक जना शिक्षकलाई सम्मान गरिएको थियो। त्यसैगरी, विद्यालयमा २० वर्ष वा सोभन्दा बढी निरन्तर सेवा गरेका ६ जना विद्यालय सहयोगी कर्मचारीलाई पनि सम्मान गरिएको थियो। ‘चन्द्रकोट गाउँपालिका, गुल्मीको शैक्षिक पुरस्कार तथा सम्मान मापदण्ड, २०८३’ बमोजिम पालिकाभर उत्कृष्ट बालविकास सहजकर्ता, विद्यालय सहायक कर्मचारी (लेखा), शिक्षक, प्रधानाध्यापक तथा विद्यालयलाई सम्मानपत्र र नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

मापदण्डअनुसार उत्कृष्ट बालविकास सहजकर्तातर्फ ग्वाघा माध्यमिक विद्यालयकी पूर्णकला थापालाई रु. ५ हजार तथा उत्कृष्ट विद्यालय सहायक कर्मचारी (लेखा) तर्फ जनता बाल निकेतन माध्यमिक विद्यालयका गोपाल सापकोटालाई रु. ५ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो। त्यसैगरी, आधारभूत तहतर्फ उत्कृष्ट शिक्षकका रूपमा ज्ञानोदय माध्यमिक विद्यालय, मजुवाका शिक्षक यज्ञमूर्ति भण्डारीलाई रु. ६ हजार र माध्यमिक तहतर्फ उत्कृष्ट शिक्षकका रूपमा उदय माध्यमिक विद्यालयका लक्ष्मण सुवेदीलाई रु. ८ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

उत्कृष्ट प्रधानाध्यापकतर्फ आधारभूत तहमा जनता आधारभूत विद्यालय, सोताका प्रधानाध्यापक शंकरप्रसाद भण्डारीलाई रु. ८ हजार तथा माध्यमिक तहतर्फ ग्वाघा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश थापालाई रु. १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो। उत्कृष्ट विद्यालयतर्फ आधारभूत तहमा जनज्योति आधारभूत विद्यालय, चन्द्रकोट–२, भञ्ज्याङलाई रु. ८ हजार तथा माध्यमिक तहतर्फ ज्ञानोदय माध्यमिक विद्यालय, चन्द्रकोट–८, मजुवालाई रु. १० हजार नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?