Butwal Today

रौतहटबाट रोल्पा सम्म मिठाई व्यवसायमा जम्दै मेघु शाह

१ आश्विन २०८३, बिहीबार
अ+
अ-

रोल्पा । जीवनमा केही गरौँला भन्ने उद्देश्यले रौतहटबाट रोल्पा छिरेका ५१ वर्षीय मेघु शाहले झन्डै तीन दशकको अवधिमा आफ्नो व्यवसायिक पहिचान मात्र बनाएका छैनन्, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने व्यवसायीका रूपमा समेत आफूलाई स्थापित गरेका छन् । सामान्य परिवारमा जन्मिएर सानै उमेरदेखि संघर्ष गर्दै आएका शाह अहिले रोल्पा नगरपालिका–४, जिल्ला सदरमुकाम टुडिखेल नजिकै ‘न्यू चन्दन मिठाई पसल’ सञ्चालन गर्दै आएका छन् ।

२०५४ सालमा केही कामको सिलसिलामा रौतहटबाट रोल्पा आएका शाह त्यसबेला यहाँ लामो समय बस्ने वा व्यवसाय गर्ने योजना बनाएर आएका थिएनन् । जीवनमा केही गर्न सकिन्छ कि, व्यवसायको सम्भावना खोज्न सकिन्छ कि र रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ कि भन्ने सोचले रोल्पा आएको उनले बताएका छन् । रोल्पा आएपछि आफूले काम गर्दै आएको होटल नै १२ हजार रुपैयाँमा खरिद गरेर व्यवसाय सुरु गरेको उनले बताएका छन् ।

‘२०५४ सालमा केही कामको सिलसिलामा रोल्पा आएको थिएँ । जीवनमा केही संघर्ष गर्न सकिन्छ कि, यहाँ केही व्यवसाय गर्न सकिन्छ कि भनेर रोल्पा आएको हुँ,’ उनले बताएका छन् । आफूले काम गरेको होटल नै १२ हजार रुपैयाँमा किनेर व्यवसाय सुरु गरेको र त्यसलाई निरन्तरता दिँदै अहिलेको अवस्थासम्म आइपुगेको उनले बताएका छन् । सुरुवातमा निकै सानो लगानी र सीमित स्रोतसाधनबाट सुरु भएको उनको व्यवसाय अहिले विस्तार भएको छ । हाल उनले तीन–चार जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको बताएका छन् । कामदारलाई न्यूनतम १५ हजार रुपैयाँभन्दा माथि पारिश्रमिक दिने गरेको उनले बताएका छन् । व्यवसायबाट भएको आम्दानी बचत गर्दै आफ्नै गाउँ र रोल्पामा समेत जग्गा जोड्न सफल भएको उनले बताएका छन् ।

उनका लागि यो सफलता एकै दिनमा आएको होइन । बाल्यकालदेखि नै काम र संघर्षमा अभ्यस्त भएका शाहले आफू करिब १२ वर्षको उमेरदेखि नै होटलमा काम गर्न थालेको बताएका छन् । खेलौना बोकेर हिँड्ने उमेरमा होटलमा काम गर्नुपरेको सम्झना गर्दै उनले सानै उमेरमा सिकेको श्रम र अनुभवले अहिलेको जीवनमा ठूलो भूमिका खेलेको बताएका छन् । सामान्य परिवारमा हुर्किएका शाहले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण बाल्यकालमै काम गर्नुपरेको बताएका छन् । उनका बुवाले कृषि पेशा गरेर परिवारको पालनपोषण गरेको र घरमा खानासमेत सहज रूपमा जुटाउन कठिन हुने अवस्था रहेको उनले बताएका छन् । रौतहटमा रहँदा परिवारले विभिन्न अभाव र समस्या झेल्नुपरेको स्मरण गर्दै उनले ती कठिनाइले आफूलाई मेहनत गर्न सिकाएको बताएका छन् ।

‘मेरो पढाइ जम्मा तीन कक्षासम्म मात्र हो । त्यो पनि पूरा पढ्न पाइनँ,’ उनले बताएका छन् । औपचारिक शिक्षा धेरै हासिल गर्न नसके पनि जीवनका अनुभव र संघर्षबाट धेरै कुरा सिकेको उनले बताएका छन् । आफूले पढ्न नपाएको अवस्थालाई कमजोरीका रूपमा मात्र नहेरी कामबाट सिकेको सीपलाई आफ्नो शक्ति बनाएको उनले बताएका छन् । उनले बेरोजगार युवायुवतीलाई पनि आफूले सकेको सल्लाह दिने गरेको बताएका छन् । नास्ता तथा मिठाईका परिकार बनाउने, होटल व्यवसाय गर्ने वा अन्य साना व्यवसाय सुरु गर्न सकिने उपायहरू आफूले सिकाउने गरेको उनले बताएका छन् । आफूले जीवनमा भोगेको संघर्षका कारण अरू मानिस बेरोजगार बसेको देख्दा आफूलाई विभिन्न उपाय सुझाउन मन लाग्ने उनले बताएका छन् ।

‘मैले धेरै पढ्न पाइनँ । त्यसैले होला, अरूलाई बेरोजगार भएको देख्दा विभिन्न उपाय सिकाउन मन लाग्छ,’ उनले बताएका छन् । शाहको दैनिकी पनि व्यवसायप्रतिको उनको लगावको उदाहरण हो । उनी बिहान करिब ४ बजे उठ्छन् । त्यसपछि मिठाई तथा नास्ताका परिकार तयार गर्ने कामदेखि ग्राहकको सेवा र व्यवस्थापनमा व्यस्त हुने गरेको उनले बताएका छन् । साँझ करिब १० बजेसम्म होटल तथा पसलमै व्यस्त हुने गरेको उनले बताएका छन् ।
रात नभएको भए अझै धेरै काम गर्न सक्थेँ होला । मेहनत र परिश्रम गर्नमा मेरो कन्जुस्याइँ छैन,’ उनले बताएका छन् । मेहनत गर्ने मानिसले आफ्नो श्रमको परिणाम पाउने विश्वास आफूले जीवनभर राखेको उनले बताएका छन् ।

व्यवसाय सुरुका दिनमा आम्दानी कम हुँदा पनि आफू निराश नभएको शाहले बताएका छन् । कहिले तीन हजार रुपैयाँ मात्र आम्दानी हुँदा पनि त्यसैमा खुसी हुने गरेको उनले बताएका छन् । विस्तारै ग्राहक बढ्दै गए, व्यवसाय बढ्दै गयो र अहिले सिजनका समयमा दैनिक १५–१६ हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताएका छन् । विशेषगरी असोज महिनामा उनको व्यवसायमा कारोबार बढ्ने गरेको छ । विश्वकर्मा पूजा, दशैं, तिहारलगायतका पर्वमा जेरी, लड्डु, मालपुवा, पुरी, छोला लगायतका मिठाई तथा नास्ताका परिकारको माग बढ्ने गरेको उनले बताएका छन् । विश्वकर्मा पूजाका अवसरमा मोटरसाइकल, गाडी, बस, मेसिन तथा विभिन्न मठमन्दिरमा पूजा हुने भएकाले मिठाईका परिकारको माग बढ्ने गरेको उनले बताएका छन् ।

२०८३ साल असोज १ गते विश्वकर्मा पूजाको अवसरमा दुई दिनमा लड्डु, मालपुवा, जेरीलगायतका पूजा सामग्रीका रूपमा प्रयोग हुने परिकार बिक्रीबाट करिब दुई लाख रुपैयाँ बराबरको कारोबार भएको उनले बताएका छन् । त्यस अवसरमा तीन–चार क्विन्टलभन्दा बढी जेरी, लड्डु तथा अन्य मिठाई बिक्री गरेको उनले बताएका छन् । ‘विश्वकर्मा पूजाको दिन विभिन्न ठाउँमा पूजा हुन्छ । मोटरसाइकल, गाडी, बसदेखि मठमन्दिरसम्म पूजा गरिन्छ । त्यसका लागि यहाँबाट जेरी, लड्डु लगायतका मिठाई लगेर जाने गरेका छन्,’ उनले बताएका छन् । पर्व र पूजाको सिजनमा व्यवसायबाट राम्रो आम्दानी हुने गरेको उनले बताएका छन् ।

शाहको व्यवसायिक यात्रा रोल्पाको राजनीतिक र सामाजिक परिवर्तनसँग पनि जोडिएको छ । १० वर्षे सशस्त्र द्वन्द्वका समयमा समेत आफूले रोल्पामै व्यवसाय सञ्चालन गरेको उनले बताएका छन् । द्वन्द्वका कारण देशका विभिन्न क्षेत्रमा व्यवसाय र जनजीवन प्रभावित भइरहेका बेला आफूले रोल्पामा बसेर व्यवसायलाई निरन्तरता दिएको उनले बताएका छन् । १० वर्षको जनयुद्धको समयमा पनि मलाई माओवादीले दुःख दिएनन् । बरु राम्रो व्यवहार गर्थे,’ उनले बताएका छन् । द्वन्द्वको कठिन समयमा आफूले कुनै ठूलो समस्या भोग्न नपरेको र स्थानीयस्तरमा आफ्नो व्यवसायलाई निरन्तरता दिन सकेको उनले बताएका छन् ।

रोल्पामा बाहिरबाट आएर व्यवसाय गर्दा स्थानीय समुदायको व्यवहार पनि आफूअनुकूल रहेको शाहले बताएका छन् । ‘रोल्पाको कुनै आमाको पेटबाट जन्मिएको भए अझ सहज हुन्थ्यो होला । तर रोल्पालीहरूले मलाई धेरै माया गर्नुभयो, धेरै सपोर्ट गर्नुभयो,’ उनले बताएका छन् । स्थानीय नागरिकले आफूलाई कहिल्यै विभिन्न किसिमका आरोप वा अनावश्यक समस्या नदिएको उनले बताएका छन् । स्थानीयको साथ र विश्वासकै कारण २०५४ सालदेखि अहिलेसम्म रोल्पामै व्यवसाय गरिरहेको उनले बताएका छन् । बाहिरबाट आएको मानिसलाई स्थानीय समुदायले स्वीकार गरेर साथ दिनु नै आफ्नो व्यवसायिक यात्राको महत्वपूर्ण आधार बनेको उनले बताएका छन् ।

उनका तीन सन्तानमध्ये जेठी छोरी कृषि विकास बैंकमा जागिरे रहेको उनले बताएका छन् । छोरा मास्टर डिग्री अध्ययन गरिरहेको र अर्की छोरी पनि अध्ययनरत रहेको उनले बताएका छन् । आफूले बाल्यकालमा शिक्षा हासिल गर्न नपाए पनि आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन पाएकोमा खुसी रहेको उनले बताएका छन् । आफूले सञ्चालन गरेको व्यवसायबाट सिकेका केही युवायुवती विदेश गएको र केहीले आफ्नै व्यवसाय सुरु गरेको शाहले बताएका छन् । आफूबाट काम सिकेर अन्यत्र रोजगारी तथा व्यवसायमा लागेका युवायुवती देख्दा आफूलाई खुसी लाग्ने उनले बताएका छन् । व्यवसायको उद्देश्य आफ्नो परिवार चलाउनु मात्र नभई अरूलाई समेत सीप र रोजगारीको अवसर दिनु रहेको उनले बताएका छन् ।

‘मैले काम सिकाएका केही युवा–युवती विदेश गएका छन् । कतिपयले आफैं व्यवसाय पनि सञ्चालन गरेका छन्,’ उनले बताएका छन् । आफूले सिकेको सीप अरूलाई सिकाउँदा त्यसबाट उनीहरूको जीवनमा पनि परिवर्तन आउन सक्ने उनले बताएका छन् । शाहले आफ्नो व्यवसायिक यात्रामा रोल्पाका पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक व्यक्तित्वको सहयोग र सुझावसमेत महत्वपूर्ण रहेको बताएका छन् । रोल्पा नगरपालिकाका संस्थापक नगर प्रमुख पूर्ण केसी, करेन्ट नेपालका पत्रकार तथा नेपाल पत्रकार महासंघका संस्थापक सभापति काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष खेम बुढा, नेपाल पत्रकार महासंघ रोल्पा जिल्ला शाखाका अध्यक्ष नवीन लोचनलगायत विभिन्न व्यक्तिहरूले दिएको सुझाव र सहकार्यले आफूलाई व्यवसायमा टिकिरहन सहयोग गरेको उनले बताएका छन् ।

‘उनीहरूले मलाई व्यापारीको रूपमा मात्र हेर्नु । राम्रो सल्लाह सुझाव दिए। के कस्तो भइरहेको छ भनेर विभिन्न गतिविधिबारे जानकारी गराए । उनीहरूको सहकार्य, समन्वय र सुझावकै कारण म अहिलेसम्म यहाँ टिक्न लायक भएको हुँ,’ उनले बताएका छन् । उनका अनुसार व्यवसाय सञ्चालन गर्दा चुनौतीहरू पनि उत्तिकै छन् । जेरी, पुरी, छोला तथा अन्य नास्ताका परिकार उत्पादन गर्न बिहानैदेखि काम गर्नुपर्ने, कच्चा पदार्थको व्यवस्थापन गर्नुपर्ने र ग्राहकको मागअनुसार स्वाद तथा गुणस्तर कायम गर्नुपर्ने चुनौती रहेको उनले बताएका छन् । समयअनुसार व्यवसायमा नयाँपन ल्याउनुपर्ने आवश्यकता पनि रहेको उनले बताएका छन् ।

विगत र वर्तमानको व्यवसायमा धेरै फरक रहेको शाहले बताएका छन् । पहिले सीमित ग्राहक र सीमित उत्पादनका साथ व्यवसाय गर्नुपर्ने भए पनि अहिले मानिसको माग, स्वाद र बजारको स्वरूप परिवर्तन भएको उनले बताएका छन् । समयसँगै आफूले पनि व्यवसाय गर्ने तरिका परिवर्तन गर्दै आएको उनले बताएका छन् ।तीन दशक लामो रोल्पा बसाइमा शाहले एउटा सामान्य होटल व्यवसायबाट मिठाई तथा नास्ता व्यवसायसम्मको यात्रा तय गरेका छन् । १२ हजार रुपैयाँबाट सुरु भएको उनको व्यवसाय अहिले अरूका लागि रोजगारीको माध्यम बनेको छ । आफ्नो परिवारको आर्थिक अवस्था सुधार गर्नेदेखि छोराछोरीलाई उच्च शिक्षा दिलाउनेसम्मको यात्रामा उनले श्रमलाई मुख्य आधार बनाएको बताएका छन् ।

रौतहटबाट रोल्पा आउँदा भविष्य के होला भन्ने निश्चित नभएका शाह अहिले रोल्पालाई नै आफ्नो कर्मभूमि मान्छन् । उनले आफूलाई रोल्पाली नागरिकले दिएको माया र साथलाई आफ्नो सफलताको महत्वपूर्ण आधारका रूपमा लिएका छन् । बिहान ४ बजेदेखि राति १० बजेसम्म व्यवसायमा खटिने शाहका लागि आज पनि संघर्ष सकिएको छैन । फरक यति मात्र हो, हिजोको संघर्ष जीवन धान्नका लागि थियो भने अहिलेको संघर्ष व्यवसायलाई थप व्यवस्थित बनाउँदै आफूबाट सिकेका अरूलाई पनि रोजगारी र व्यवसायको बाटो देखाउनका लागि भएको उनले बताएका छन् । उनले मेहनत, परिश्रम र निरन्तरतालाई जीवनको मुख्य आधार मानेका छन् । ‘जसले मेहनत गर्छ, त्यसको फल मिठो हुन्छ,’ उनले बताएका छन् । आफ्नो जीवनको तीन दशक लामो यात्राबाट उनले सानो सुरुवातलाई निरन्तर मेहनतले ठूलो उपलब्धिमा परिणत गर्न सकिने सन्देश दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?