© 2026
भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा तथा लुम्बिनी चाइनिज लर्निङ एण्ड टेस्टिङ सेन्टरको सहकार्यमा “कन्फ्युसियस इन्स्टिच्युट दिवस २०२६” मनाइएको छ । सिद्धार्थनगर नगरपालिका, वार्ड नं. ४ मा रहेको पुगताभूमि जेतवन विहारमा सञ्चालित लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित ‘अध्ययन केन्द्र’मा आयोजित कार्यक्रमको मूल नारा “सभ्यताबीच अपसी सिकाइ, भाषाले मन जोड्छ” भन्ने रहेको थियो ।
यस कार्यक्रममा चिनियाँ भाषाको क्यालिग्राफी लेखन कला सिकाइ सेसनमा अतिथीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । त्यस्तै, चिनियाँहरूको चियापानको संस्कृतिको प्रदर्शन र नेपाल–चीन सम्बन्धबारे विद्यार्थीको अनुभवसम्बन्धित छोटा भिडियो प्रतियोगितामा ९८ विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको उद्देश्य “चिनियाँ सिकौँ, शास्त्रीय कलाको अनुवाद गरौँ, मनहरू जोडौँ र मित्रता निर्माण गरौँ” भन्ने रहेको थियो ।कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति मणिकरत्न शाक्यले कन्फ्युसियस र बुद्ध समकालीन दार्शनिक व्यक्तित्व रहेको र उनीहरूका दर्शन तथा विचारधाराका विभिन्न पक्षबीच समानता रहेको बिचार राखेका थिए । उनले कन्फ्युसियस इन्स्टिच्युटले नेपाल–चीनबीचको भाषिक तथा सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा चिनियाँ भाषामा पोख्त भएका विद्यार्थीहरूले बौद्ध ग्रन्थको अध्ययन तथा अनुवादमा समेत योगदान गर्न सक्ने धारणा राखेका थिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार इन्द्र काफ्लेले चिनियाँ भाषामा सुरक्षित रहेका बौद्ध ग्रन्थको अध्ययन तथा अनुसन्धानका लागि नेपाली विद्यार्थीहरूले चिनियाँ भाषा सिक्न आवश्यक रहेको धारणा राखेका थिए । त्यस्तै कार्यक्रमका अतिथी होटल व्यवसायी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष सि।पी। श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि चिनियाँ भाषा जान्ने दक्ष जनशक्तिको आवश्यकता रहेको र त्यसलाई पूरा गर्न विश्वविद्यालयले खेलेको भूमिकाको प्रशंशा गरेका थिए । चिनियाँ क्यालिग्राफी लेखनमा रूचि राखेर आफ्नो नाम लेख्न प्रयास गरेका श्रेष्ठले चिनियाँ अक्षरहरू बाहिर हल्ला गरेजस्तो कठिन नभएको र यसको लेखन कलाको सुन्दरता अद्भूत रहेको अनुभव भएको बताए । भैरहवा क्षेत्रमा परिचित पर्यटन व्यवसायी सतिश जोशीले चिनियाँ भाषामा पोख्त रहेका विद्यार्थीहरूका लागि रोजगारीका असीमित अवसर रहेको र चिनियाँ भाषामा पोख्त विद्यार्थीहरूलाई पर्यटन क्षेत्रमा काम गर्नका लागि आवश्यक सीप र ज्ञानबारे प्रशिक्षित गर्नमा हातेमालो गर्न स्थानीय व्यवसायीहरू तयार रहनुका साथै स्थानीय स्तरमा पनि योग्य विद्यार्थीहरूलार्इ रोजगारीका अवसर उपलब्ध गराउन आफूहरू उत्साहित रहेको धारणा राखेका थिए ।
कार्यक्रममा देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले कन्फ्युसियस इन्स्टिच्युट स्थापना भएपछि नेपाल–चीनबीचको भाषिक तथा सांस्कृतिक आदानप्रदानमा भएका विभिन्न गतिविधिबारे जानकारी गराएका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटका चीन पक्षकी निर्देशक डा.काओ रुईले विश्वविद्यालयमा चिनियाँ भाषा अध्ययन गरिरहेका विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको धारणा राखेकी थिइन् भने नेपाल पक्षका निर्देशक डा. राम चन्द्र कार्कीले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पारेका थिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालय चाइनिज लर्निङ एण्ड टेस्टिङ सेण्टरकी निर्देशक याङ स्याले भाषाले मानिस र देशबीचको सम्बन्ध जोड्ने बताउँदै लुम्बिनी बौद्ध विश्वविद्यालयको चिनियाँ भाषा परीक्षा केन्द्रमा चिनियाँ भाषा परीक्षा दिने विद्यार्थीमा नेपाली विद्यार्थीको संख्याभन्दा भारतीय विद्यार्थीको सङ्ख्या अधिक रहेको जानकारी दिएकी थिइन् । उक्त कार्यक्रममा विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य आमन्त्रित अतिथिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।