© 2026
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित नेपाल आयल निगम परिसरबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार ट्याङ्करको सिल तोडेर डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जना व्यक्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको हो। प्रहरीका अनुसार दुईवटा ट्याङ्कर घटनास्थलमै फेला परेका थिए भने अर्को एक ट्याङ्कर घटनास्थलबाट भागेपछि प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको थियो। नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।