© 2026
काठमाडौँ । रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार जारी गरेको प्रतिवेदनअनुसार घाइते तथा बिरामी परेकामध्ये हाल २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने उपचारका क्रममा चार जनाको मृत्यु भएको छ ।
त्यसैगरी बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ । नुवाकोटमा लक्षित जनसङ्ख्या ७१ हजार ६३५ मध्ये २८ हजार ९९ जना अर्थात् ३९.२२ प्रतिशतले खोप लगाएका छन् । रसुवामा लक्षित ३१ हजार ४७४ मध्ये नौ हजार ७३१ जना अर्थात् ३०.९१ प्रतिशतले खोप पाइसकेका छन् । पछिल्लो २४ घण्टामा एक जनामा कडा झाडापखाला पुष्टि भएको छ । चार जिल्लाका ३६ वटा होल्डिङ सेन्टरमा अहिले दुई हजार ८९५ जना आश्रित रहेका छन् । नुवाकोटका २३ सेन्टरमा एक हजार ७०१, काठमाडौँका ३ सेन्टरमा ५८५, धादिङका चार सेन्टरमा ३९० र रसुवामा छ सेन्टरमा २१९ जना बाढीपीडितले आश्रय लिइरहेका छन् ।
हाल बाढी प्रभावितका लागि ३४ वटा टोलीमा १४९ स्वास्थ्यकर्मी खटिएका छन् । हालसम्म सात हजार ७०७ जनाले आकस्मिक चिकित्सा टोलीमार्फत सेवा लिइसकेका छन् । सरकारले प्रभावित नागरिकलाई मानसिक परामर्शका लागि निःशुल्क हेल्पलाइन ११६६ र सुरक्षित मातृत्व परामर्शका लागि १११५ सञ्चालनमा ल्याएको छ ।