Butwal Today

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

२९ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा आफूहरू सहमत हुन नसक्ने जनाएका छन् ।

देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापन पक्षको निर्णयप्रति सहमत हुन नसकिने सो समूहका नेता एनपी साउदले जानकारी दिए । संस्थापन पक्षले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सबैलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो ।

महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुट्नू भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहलकदमीका लागि सो निर्णय गरिएको हो ।

यसअघि पूर्व सभापति देउवा समूहले गत साउन २९ गतेदेखि तीनदिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनपछि संस्थापनइतर पक्षले कांग्रेसको छुट्टै १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

संस्थापन पक्षले यसअघि नै पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । यसरी दुवै पक्षले छुट्टाछुट्टै १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको भए पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै राखेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?