© 2026
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा फरार रहेको अवस्थामा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार सिंहदरबार परिसरबाट पक्राउ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग आयोजना गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा तामाङलाई पक्राउ गरिएको बताइएको छ।
पक्राउपछि उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त दरबारमार्गमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्राप्त विवरणअनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेपछि प्रहरी वृत्त दरबारमार्गले गत वैशाख २८ गते काठमाडौं जिल्ला अदालतसँग पक्राउ अनुमति मागेको थियो। अरुण अर्यालको जाहेरीका आधारमा नेपाल सरकार वादी र वीरबल तामाङ प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गर्न अनुमति मागिएको थियो।
प्रहरीको पत्रमा जाहेरी तथा बैंकिङ विवरणबाट तामाङ घटनामा संलग्न रहेको देखिएको उल्लेख गर्दै पक्राउ अनुमति मागिएको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९९३० बमोजिम तामाङलाई पक्राउ गर्न अनुमति दिएको थियो। सोही अनुमतिका आधारमा उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सोमबार प्रधानमन्त्री शाहले रसुवालगायत बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेका थिए। उक्त छलफलमा किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ पनि सहभागी थिए। बैठकमा सहभागी आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले वीरबललाई प्रहरीले पक्राउ गरेर लगेको बताएका छन्।
वीरबल तामाङ किस्पाङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। काठमाडौं महानगरपालिका–१६, नयाँबजारमा उनको ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर सञ्चालनमा रहेको बताइएको छ। उनीमाथि बैंकिङ कसुरसँगै ठगीसम्बन्धी थप आरोपसमेत रहेको बताइएको छ। प्रहरीले पक्राउपछि उनीविरुद्धका आरोपबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।