Butwal Today

आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ताबारे प्रेस काउन्सिलको आपत्ति

२९ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौं । अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाउँदै अध्ययन थालेको छ। काउन्सिलका अनुसार रसुवामा आएको बाढीमा घाइते भई आईसीयूमा उपचाररत व्यक्तिसँग ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलले लिएको अन्तर्वार्तासहितको सामग्री काउन्सिलको ध्यानमा आएको हो।

त्यसैगरी, सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा फेला परेका एक पथप्रदर्शक आईसीयूमा उपचाररत रहेकै अवस्थामा बीबीसी नेपालीले असार २१ गते प्रसारण गरेको अन्तर्वार्ताबारे पनि काउन्सिलले अध्ययन गरिरहेको जनाएको छ। प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराका अनुसार आईसीयू सामान्य अन्तर्वार्ता गर्ने स्थान नभएकाले त्यहाँ उपचाररत बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति, मानवीय मर्यादा तथा उपचार प्रक्रियामा पर्न सक्ने असरलाई गम्भीर रूपमा विचार गर्न आवश्यक हुन्छ।‘सघन उपचार कक्ष सामान्य अन्तर्वार्ता गर्ने स्थान होइन। त्यहाँ उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था, गोपनीयता, सहमति र उपचार प्रक्रियामा पर्न सक्ने असरलाई पत्रकारले गम्भीर रूपमा विचार गर्नुपर्छ,’ सहप्रवक्ता बोहराले भने।

उनका अनुसार काउन्सिलले दुवै सामग्रीलाई पत्रकार आचारसंहिताको दृष्टिले अध्ययन गरिरहेको छ। यस क्रममा सम्बन्धित सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिलसँग आवश्यक जानकारी मागिएको छ। काउन्सिलले सम्बन्धित अस्पताललाई अस्पताल प्रशासन, बिरामी तथा बिरामीको परिवारको अनुमति लिएर सञ्चारकर्मीले अन्तर्वार्ता लिएको हो वा होइन भन्नेबारे जानकारी दिन पत्राचार गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?