Butwal Today

श्यामेश चौधरी र चक्रबहादुर खड्का आत्मालोचना सहित पुन नेकपामा फर्किए

२८ भाद्र २०८३, आइतबार
अ+
अ-

दाङ । प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका श्यामेश चौधरीले कांग्रेस परित्याग गर्दै पुनः नेपाली कम्युनिष्ट पार्टीमा फर्किएको घोषणा गरेका छन्। चौधरीले प्रेस वक्तव्य जारी गर्दै पार्टीले दाङ निर्वाचन क्षेत्र नं.१ को उम्मेदवार छनोट गरेपछि असन्तुष्ट भएर भावनात्मक आवेगमा कांग्रेस प्रवेश गरेको उल्लेख गरेका छन्।

उनले आफ्नो राजनीतिक इतिहासमा समाज परिवर्तनका लागि गरेको योगदान र बलिदानलाई स्मरण गर्दै आफ्नो वर्गप्रति निष्ठावान रही पुनः नेपाली कम्युनिष्ट पार्टीको विचार, सिद्धान्त र विधानलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन्। चौधरीले विगतका कमजोरी सच्याउँदै पार्टीमा सक्रिय भएर अघि बढ्ने बताएका छन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका प्रदेश समिति सदस्य चक्रबहादुर खड्काले आफ्ना विगतमा भएका कमीकमजोरि सच्चाउदै पाटिको बिधिपद्धति अनुसार कम गर्ने बताउदैँ आत्मालोचना गरेका छन्।खड्काले पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचन २०८२ मा दाङ निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका व्यक्तिप्रति चित्त नबुझेका कारण  निर्वाचन प्रचारप्रसारका क्रममा बिरोध गर्दा पाटि निणर्य बिपरित हुन पुगेको स्वीकार गरेका छन्। पार्टी निर्णयविपरीत काम भएको महसुस गर्दै आत्मालोचना गरेको उल्लेख गर्दै खड्काले आगामी दिनमा पार्टीको नियमित कामकारबाही र जिम्मेवारीमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चौधरी र खड्काको घोषणासँगै निर्वाचनका क्रममा पार्टीभित्र देखिएको असन्तुष्टि तथा मतभेदलाई आत्मालोचनामार्फत समाधान गर्दै संगठनात्मक रूपमा अघि बढ्ने प्रयासका रूपमा यसलाई हेरिएको छ। जिल्ला पार्टीको निर्णयअनुसार निर्वाचनका क्रममा पार्टीभन्दा बाहिर वा अन्य पक्षमा लागेका सबैलाई पुनः पार्टीमा फर्काउने अभियान अघि बढाइएको नेकपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री इन्द्रजित थारुले बताए । उनले पार्टी छाडेर अन्यत्र लागेका सबै नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किएर संगठन निर्माण र पार्टि एकतालाई मजवुत बनाउन सक्रिय रूपमा काम गर्न आग्रहसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?