© 2026
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा मंगलबारदेखि दुई दिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ आयोजना हुँदैछ। बढ्दो कार्बन उत्सर्जनका कारण हिमाल, पहाड तथा तराईका स्थानीय तहमा परेको जलवायु परिवर्तनको असर, प्रभाव र अनुकूलनका विषयमा साझा धारणा निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलोपटक सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनको आयोजना घरपझोङ गाउँपालिकाले गरेको हो। मुस्ताङका अन्य चार स्थानीय तह तथा घरपझोङसँग भगिनी सम्बन्धमा जोडिएका स्थानीय तहहरूले समेत सम्मेलनमा सहयोग गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार देशभरका ७५३ वटै स्थानीय तहलाई सम्मेलनमा सहभागिताका लागि पत्राचार गरिएकोमा आइतबारसम्म ४२० स्थानीय तहले सहभागिता सुनिश्चित गरेका छन्। सम्मेलनमा सातै प्रदेशका ३६ जिल्ला समन्वय समिति समेत सहभागी हुनेछन्।
प्रदेशगत रूपमा कोशीबाट ७२, मधेशबाट ५८, बागमतीबाट ४६, गण्डकीबाट ६४, लुम्बिनीबाट ६२, कर्णालीबाट ३८ र सुदूरपश्चिमबाट ६६ स्थानीय तहले सहभागिता जनाउने भएका छन्। गाउँपालिकाका अनुसार सहभागी हुने स्थानीय तहमा २६२ गाउँपालिका, १५२ नगरपालिका, ५ उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिका रहेका छन्। सम्मेलनमा सहभागी अतिथिका लागि घरपझोङ गाउँपालिकाले आवास तथा रात्रीकालीन भोजनको व्यवस्थासमेत मिलाएको छ। विभिन्न प्रदेशका सहभागीका लागि मार्फा, छैरो, जोमसोम, ठिनी, पुथाङ एयरपोर्ट तथा स्याङ गाउँका होटलमा आवासको व्यवस्था गरिएको छ।
सम्मेलनका क्रममा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका अस्पताल तथा स्वास्थ्य चौकीबाट करिब एक दर्जन स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ। सम्मेलनमा सातै प्रदेशका स्थानीय तहबाट १ हजार ३७७ भन्दा बढी अतिथि सहभागी हुने अनुमान गरिएको छ। गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। सम्मेलनस्थलको सजावट, सुरक्षा, स्टल निर्माण, भोजन तथा होटल व्यवस्थापन, सरसफाइ, ट्राफिक व्यवस्थापन, बजार सौन्दर्यीकरण, खानेपानी र शौचालयलगायतका काम भइरहेको उनले बताए ।
सम्मेलनमा ७७ वटै जिल्लाका स्थानीय तहका प्रमुख तथा नगरपालिका र गाउँपालिका महासंघका प्रतिनिधि सहभागी हुने जनाइएको छ। जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि र विज्ञहरूको समेत सहभागिता रहनेछ। सम्मेलनको उद्घाटन संघीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ भने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुने बताइएको छ। सम्मेलनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहको साझा पहलका विषय समेटिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ को साझा घोषणापत्र’ जारी गर्नेछ।