© 2026
चन्द्राैटा । भदौ २० गते शनिबार राति करिब १० बज्दै थियाे । घरमा सुतिरहेको अवस्थामा आमा-छोरीलाई सर्पले डस्याे । परिवारले तत्काल उपचारका लागि स्वास्थ्य संस्था पु¥याएनन् । कपिलवस्तुकाे शुद्धोदन गाउँपालिका-१ की सुनिता कोरी र उहाँकी १३ वर्षीय छोरी जानकी काेरीलाई एउटै समयमा विषालु करेत सर्पले डसे पनि तत्काल उपचारमा नलगिँदा दुवैको अवस्था गम्भीर बनेको थियो ।
सर्पले डसेपछि तत्काल उपचारमा नपुग्दा सर्पदंशका बिरामीको अवस्था गम्भीर बन्ने गरेको छ । पछिल्लो समय सर्पदंशका बिरामी उपचारमा ढिलो पुग्दा मृत्युका घटनासमेत बढेका छन् । सर्पको विषको प्रभाव देखिन थालेपछि सुनितालाई करिब १० घण्टापछि भोलिपल्ट बिहान करिब ८:३० बजे मात्र उपचारका लागि लगिएको थियो । उपचारका क्रममा उनको अवस्था गम्भीर बनेको थियो । आमाको उपचार भइरहे पनि छोरी जानकीलाई भने घरमै राखिएको थियो ।
विषको प्रभाव बढ्दै गएपछि जानकी दिउँसो अचेत भएकी थिइन् र त्यसपछि मात्र उपचारका लागि लैजाने तयारी गरिएको थियो । उपचारपछि डिस्चार्ज भएर आमाछाेरी घर फर्किएका छन् । यतिबेला उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे कपिलवस्तु सर्पदंश केन्द्र गाेरुसिंगेका व्यवस्थापक नवीन भण्डारीले बताए ।