© 2026
बाणगगा । पशुपन्छी तथा दानाजन्य उत्पादनमा लामो समयदेखि आफ्नो पहिचान बनाउँदै आएको श्रीनगर पब्लिक कम्पनीले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राख्दै कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा आधुनिक स्मार्ट फ्रेस हाउस सञ्चालनमा ल्याएको छ। स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोक्तासम्म पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको फ्रेस हाउसको एक कार्यक्रमका बीच बाणगंगा नगरपालिका पशु शाखाका प्रमुख डा. ध्रुव ज्ञवालीले उद्घाटन गरे।
फ्रेस हाउस उद्घाटन गर्दै डा. ज्ञवालीले सरकारले पशु वध तथा मासु बिक्री वितरणसँग सम्बन्धित मापदण्ड र वधशाला सञ्चालन कार्यविधिलाई कडाइका साथ कार्यान्वयन गर्न थालेको बताए। उनका अनुसार बाणगंगा नगरपालिकामा पनि आगामी माघ महिनादेखि उक्त व्यवस्था प्रभावकारी रूपमा लागू गर्ने तयारी भइरहेको छ। उनले उपभोक्तालाई स्वस्थकर र स्वच्छ मासु उपलब्ध गराउन फ्रेस हाउसलाई निर्धारित मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए। बजारमा मासु बिक्री हुने तर त्यसको उत्पादन, प्रशोधन, सरसफाइ र भण्डारणको अवस्थाबारे उपभोक्ता अनभिज्ञ रहने गरेको अवस्थामा आधुनिक फ्रेस हाउसको अवधारणाले उपभोक्ताको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका टेक्निकल हेड गिरीराज खनालले कम्पनीले ‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले स्मार्ट फ्रेस हाउस सञ्चालनमा ल्याएको बताए। उनका अनुसार कम्पनीले आफ्नै उत्पादनलाई व्यवस्थित रूपमा उपभोक्तासम्म पुर्याउने योजनाअन्तर्गत फ्रेस हाउस सञ्चालनमा ल्याएको हो। फ्रेस हाउसमा सरकारी मापदण्डअनुसार स्वस्थकर मासु बिक्रीका लागि आवश्यक व्यवस्थाहरू सुनिश्चित गरिएको उनले जानकारी दिए। फ्रेस हाउसमा उपभोक्ताको मागअनुसार कुखुराको विभिन्न ‘बडी पार्ट’ उपलब्ध हुने व्यवस्था मिलाइएको छ। यसले उपभोक्तालाई आफूलाई आवश्यक पर्ने मासुको भाग छनोट गर्न सहज हुने कम्पनीले जनाएको छ।
२४ वर्ष अघि श्रीनगरको व्यवसायिक यात्रा भने केही सामान्य पोल्ट्री फार्मबाट सुरु भएको हो । दुई–चार हजार कुखुरा पालेर सुरु भएको व्यवसाय अहिले पश्चिम नेपालमै पोल्ट्री तथा फिड क्षेत्रमा स्थापित ब्रान्डका रूपमा अघि बढेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार अहिले पाँच हजारभन्दा बढी कृषक, व्यवसायी तथा उद्यमी श्रीनगरसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्। कम्पनीको विस्तारसँगै श्रीनगरको व्यवसायिक यात्रा हजारौँ कृषकको रोजगारी र आम्दानीसँग समेत जोडिएको छ।
श्रीनगरले रूपन्देहीको सुद्धोधन नगरपालिका–४ मा पौने दुई बिघा क्षेत्रफलमा दाना उद्योग सञ्चालन गरिरहेको छ। त्यही क्षेत्रमा पौने तीन बिघामा ह्याचरी तथा फार्म र अर्को पौने चार बिघा क्षेत्रफलमा व्यावसायिक फार्म सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। त्यस्तै पाल्पाको तेल्घामा २३ रोपनी क्षेत्रफलमा ब्रिडर फार्म सञ्चालनमा रहेको छ। बुटवलमा मासु प्रशोधन उद्योगसहित खाद्य क्षेत्रमा समेत नयाँ योजनाका साथ कम्पनी अगाडि बढिरहेको बताइएको छ।
पश्चिम नेपालमा पोल्ट्री क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल श्रीनगरले अब उत्पादनमा मात्र सीमित नभई उपभोक्तासम्म प्रत्यक्ष पहुँच विस्तार गर्न थालेको छ। फार्मबाट उत्पादित कुखुरा, कम्पनीको फिड तथा ह्याचरी प्रणाली हुँदै प्रशोधन र बिक्रीसम्मको प्रक्रियालाई व्यवस्थित बनाउने योजनाअन्तर्गत स्मार्ट फ्रेस हाउस सञ्चालनमा ल्याइएको हो। कम्पनीले फ्रेस हाउसलाई केवल मासु बिक्री गर्ने ठाउँका रूपमा नभई स्वच्छता, गुणस्तर र उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिने आधुनिक बिक्री केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
जितपुरजस्तो व्यस्त बजारमा आधुनिक फ्रेस हाउस सञ्चालनमा आएपछि उपभोक्ताले गुणस्तरीय र स्वस्थकर मासु सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। बाणगंगामा आगामी माघदेखि मासु बिक्री तथा वधसम्बन्धी मापदण्ड कडाइका साथ लागू गर्ने तयारी भइरहेका बेला श्रीनगरले त्यसअघि नै मापदण्डमा आधारित फ्रेस हाउस सञ्चालनमा ल्याउनुलाई व्यवसायी र उपभोक्ता दुवैका लागि सकारात्मक सुरुवातका रूपमा हेरिएको छ ।