Butwal Today

बाढी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

भक्तपुर ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिएका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले हाल १६ जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएका जानकारी गराए ।

मुख्यमन्त्री थापामगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताए । बाढी पहिरोका कारण सात हजारभन्दा बढी मानिस प्रभावित भएको उनले उल्लेख गरे ।

यही भदौ १० गते रसुवामा बाढी गएलगत्तै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ । उनका अनुसार विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रदेश सरकारले बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रतिशव रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको उनले बताए । उनका अुनसार अवरुद्ध सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट विपद् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?