© 2026
काठमाडौं । नेपाली नागरिकले अब आफ्नो अन्तर्राष्ट्रिय आवतजावतसम्बन्धी यात्रा विवरण ९ट्राभल हिस्ट्री० नागरिक एपबाटै हेर्न र डाउनलोड गर्न सक्ने भएका छन्। अध्यागमन विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री, सुरक्षित र सहज बनाउने उद्देश्यले नागरिक एपमार्फत यात्रा विवरण उपलब्ध गराउने व्यवस्था लागू गरेको जनाएको छ।
विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, यसअघि यात्रा विवरण लिन अध्यागमन विभागमै उपस्थित भएर निवेदन दिनुपर्ने तथा आवश्यक कागजात भौतिक रूपमा बुझाउनुपर्ने व्यवस्था थियो। नयाँ प्रणाली लागू भएसँगै यस्तो प्रक्रियागत झन्झट हटेको छ। नयाँ सेवा प्रयोग गर्न नागरिकले आफ्नो स्मार्टफोनमा नागरिक एप खोलेर ‘अध्यागमन’ शीर्षकमा जानुपर्नेछ। त्यसपछि ‘भ्रमण विवरण’ विकल्प चयन गरी एपसँग आबद्ध राहदानीका आधारमा आफ्नो विदेश आवतजावतसम्बन्धी उपलब्ध विवरण हेर्न तथा आवश्यक परे डाउनलोड गर्न सकिनेछ।
अध्यागमन विभागका अनुसार नागरिक एपबाट प्राप्त यात्रा विवरणलाई आधिकारिक अभिलेखका रूपमा प्रयोग गर्न सकिनेछ। यसले राहदानीमा आधारित यात्रा विवरण आवश्यक पर्ने विभिन्न सरकारी तथा अन्य प्रक्रियालाई समेत सहज बनाउने अपेक्षा गरिएको छ। विभागले नयाँ प्रणालीमा व्यक्तिगत सूचनाको गोपनीयतालाई समेत प्राथमिकता दिइएको जनाएको छ। नागरिक एपसँग लिंक भएको सम्बन्धित व्यक्तिको राहदानीको यात्रा विवरण मात्रै प्रणालीमा उपलब्ध हुने भएकाले अन्य व्यक्तिको विवरणमा अनधिकृत पहुँच रोकिएको विभागको भनाइ छ।
नयाँ डिजिटल प्रणाली कार्यान्वयनमा आएसँगै विदेश आवतजावतको अभिलेख लिन अध्यागमन विभाग धाउनुपर्ने बाध्यता हटेको छ। मोबाइलबाटै यात्रा विवरण हेर्न र डाउनलोड गर्न सकिने भएपछि यो सेवा नागरिकका लागि समय बचत गर्ने थप सहज डिजिटल सुविधाका रूपमा आएको छ।