Butwal Today

लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको बिधाई जिम्मेवारी विनोदबहादुर कुँवर

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीको निर्वाचन आयोगमा सरुवा भएपछि प्रदेश सरकारबाट उनी बिदाइ भएका छन् । उनको ठाउँमा विनोदबहादुर कुँवरलाई जिम्मेवारी दिने निर्णय बिहीबार मात्रै संघीय सरकारले गरेको छ । उनी राष्ट्रिय समावेशी आयोगको सचिव रहेका थिए । गत मंसिर १ गते लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका काप्रीले ९ महिना २६ दिन प्रदेशको प्रशासनिक नेतृत्व गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले काप्रीलाई बिदाइ गरे ।

मुख्यमन्त्री आचार्यले काप्री नेतृत्वमा प्रदेशमा केही नयाँ कामको थालनी र प्रशासनिक सुधारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यो अवधिमा प्रशासनिक सुधारका क्षेत्रमा महत्वपूर्ण काम भएको आचार्यको भनाइ थियो ।प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन समन्वय र सहकार्यको माध्यमलाई प्राथमिकता दिइएको भन्दै मुख्यमन्त्री आचार्यले प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वबीचको सहकार्यले सरकारका कामलाई परिणाममुखी बनाउन सहयोग पुगेको बताए ।

काप्रीले आफ्नो कार्यकालमा मन्त्रालयको संख्या घटाउने, सरकारी खर्चमा मितव्ययिता कायम गर्ने तथा सुशासन प्रवर्द्धनका क्षेत्रमा काम गरिएको र प्रदेशले सुशासनको क्षेत्रमा धेरै नयाँ काम गरेको उनको भनाइ थियो ।‘कानुनमा रहेर काम गर्नुपर्छ र त्यसबाट नतिजा निकाल्नुपर्छ’ भन्ने मान्यताका साथ आफूले जिम्मेवारी पूरा गरेको काप्रीले बताए। काप्रीले आफूले शिक्षकबाट सेवा जीवन सुरु गरेको र विद्यालय निरीक्षक पदबाट सरकारी सेवामा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?