Butwal Today

भोटेकोसी बाढी प्रभावित ६ सुरुङमा कसरी हुदैँ छ खोज तथा उद्धार

२६ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । भोटेकोसी बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका ६ वटा जलविद्युत् आयोजनाका सुरुङमा अझै खोज तथा उद्धार कार्य जारी छ। रसुवाको ल्हेन्दे खोलाहुँदै भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो। तीमध्ये ११ वटा आयोजनाका कर्मचारी तथा मजदूर हराएका थिए। नेपाली सेना, सशस्त्र प्रहरी तथा स्वदेशी–विदेशी टोली खोज तथा उद्धारमा खटिएका छन्। रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रिएक्सन टिम र विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ।

लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनाको टोली सुरुङभित्रै प्रवेश गरेर खोज तथा उद्धारमा जुटेको छ। चिलिमे जलविद्युत् आयोजनामा विदेशी विशेषज्ञसहितको संयुक्त टोली सक्रिय छ। नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि उद्धार कार्यमा खटिएका छन्। शुक्रबार सुरुङभित्र उपकरण लैजान सडक खोलिएको थियो। सुरुङसम्म पहुँचमार्ग बनेपछि एक्जाभेटर र लोडरको सहयोगमा ढुंगामाटो तथा हिलो हटाउने काम सुरु गरिएको छ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ‘अडिट–१’ सुरुङमा पनि खोज तथा उद्धार जारी छ। सेनाका अनुसार सुरुङको करिब दुई सय मिटर क्षेत्र ड्रोनमार्फत निरीक्षण गरिए पनि हालसम्म केही फेला परेको छैन। भोटेकोसी बाढीबाट क्षतिग्रस्त त्रिशूली–३ ‘ए’को विद्युत्गृह तथा सुरुङ क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ ‘बी’मा पनि संयुक्त टोली परिचालन गरिएको छ। खोज तथा उद्धार भइरहेका ६ वटै आयोजनाका सुरुङमा कर्मचारी तथा मजदूर फसेको हुन सक्ने आकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?