Butwal Today

बाटोमा भेटिएको सुनको लोभ गरेन विक परिवारले, खोजेर धनीलाई बुझायो

२५ भाद्र २०८३, बिहीबार
अ+
अ-

सल्यान। सल्यानको दार्मामा बाटोमा भेटिएको बहुमूल्य सुनका गहना एक परिवारले धनीको खोजी गरेर फिर्ता गरेको छ । दार्मा गाउँपालिका, ६ गोठीबन बयालडाँडीका देबबहादुर विकको परिवारले बाटोमा फेला पारेका गहना सम्बन्धित व्यक्तिको खोजी गरी फिर्ता गरेको हो ।

रुकुम पश्चिमबाट दार्मातर्फ आउँदै गरेका देबबहादुर विक, उहाँकी श्रीमती रामकली विक, छोरी किस्वरी विक र रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका घर भई माइती आएकी मायाबी विकले भदौ २४ गते बाटोमा सुनका गहना फेला पारेका थिए । गहना फेला परेपछि उनीहरूले त्यसलाई आफूसँग नराखी वास्तविक धनीको खोजी थालेका थिए ।

खोजीका क्रममा ती गहना दार्मा गाउँपालिका, ५ की रोशनी बस्नेत खड्काले यात्राका क्रममा हराएको खुलेपछि विक परिवारले सुरक्षित रूपमा उनलाई फिर्ता गरेको हो । “बाटोमा बहुमूल्य गहना भेटिएपछि अरूको सामान आफूसँग राख्नु हुँदैन भन्ने लाग्यो । जसको सामान हो, उसैलाई बुझाउनुपर्छ भनेर सम्बन्धित व्यक्तिको खोजी गरी फिर्ता गरेका हौँ,” देबबहादुर विकले भने । गहना हराएपछि निकै चिन्तित बनेकी रोशनिले फिर्ता पाएपछि विक परिवारप्रति आभार व्यक्त गरेकि छिन् । “गहना हराएपछि निकै चिन्तित थिएँ । भेटिएला भन्ने आशा पनि कम थियो । तर उहाँहरूले इमानदारीपूर्वक गहना फिर्ता गरिदिनुभयो,” रोशनीले भनिन् ।

बहुमूल्य वस्तु भेटिएपछि त्यसमा लोभ नगरी वास्तविक धनीको खोजी गरी फिर्ता गरेको विक परिवारको व्यवहारलाई स्थानीयले इमानदारी र मानवीय संवेदनाको उदाहरणका रूपमा लिएका छन् । व्यक्तिगत स्वार्थभन्दा अरूको अधिकार र सम्पत्तिलाई प्राथमिकता दिएको भन्दै स्थानीयले विक परिवारको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?