Butwal Today

भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेल्ने ५ नेपालीसहित ६ जना पक्राउ

२५ भाद्र २०८३, बिहीबार
अ+
अ-

भैरहवा । भैरहवास्थित कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ५ जना नेपाली नागरिकसहित क्यासिनोका एक जना पिट म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार दिउँसो करिब ४ः१५ बजे सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा जुवा खेलिरहेको अवस्थामा म्याग्दी बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, कास्की पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी, पोखरा–१७ बिरौटाका ३९ वर्षीय सुदिप आचार्य, रुपन्देही बुटवल उपमहानगरपालिका–६ का ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल–३ सिमानगरका ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्।

यस्तै, क्यासिनोका जिम्मेवार व्यक्ति भारत हरियाणा, फरिदाबादका २५ वर्षीय पिट म्यानेजर पारस भाटियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएका ६ जनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?