Butwal Today

लुम्बिनी जसपा सांसद अम्बिका काफ्ले पदमुक्त

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले पदमुक्त भएकी छन्। जनता समाजवादी पार्टी जसपा नेपालकी प्रदेशसभा सदस्य काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रदेशसभा सचिवालयले प्रकाशन गरेसँगै उनी पदमुक्त भएकी हुन्। पाटिको ह्वीप उल्लंघनको आरोपमा जसपा सांसद अम्बिका काफ्ले पदमुक्त भएकि हुन ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले काफ्ले पदमुक्त भएको जानकारी दिए। प्रदेशसभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुख तुलाराम घर्तीमगरको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको सचिव पुनमगरले बताए। जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेशसभा सदस्य पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो। पार्टीले काफ्लेलाई पटक–पटक स्पष्टीकरणको अवसर दिँदा पनि बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको आरोप लगाएको छ।

जसपा नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दलको कार्यालयबाट काफ्लेलाई कारबाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको थियो। उक्त पत्र सभामुखसमक्ष पेस भएपछि प्रदेशसभा बैठक चालु नरहेको अवस्थामा कानुनी व्यवस्थाअनुसार सूचनापाटीमा सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो। काफ्लेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्वीप उल्लंघन गरेको आरोपमा कारबाही गरिएको हो। विश्वासको मतका क्रममा जसपा नेपालका पाँच प्रदेशसभा सदस्यमध्ये काफ्लेबाहेक चार जनाले प्रदेश सरकारको पक्षमा मतदान गरेका थिए।

त्यसपछि पार्टीले चारै जना प्रदेशसभा सदस्यलाई कारबाही गर्ने निर्णय गरेको थियो। काफ्लेको हकमा भने पार्टी र संसदीय दल दुवैको पत्र प्राप्त भएपछि राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ बमोजिम प्रदेशसभा सचिवालयले दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको सचिव पुनमगरले बताए।काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशित भएसँगै लुम्बिनी प्रदेशसभाको सदस्य संख्या एक जनाले घटेको छ। अब प्रदेशसभामा ८२ जना सदस्य कायम भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?