© 2026
नवलपरासी । २०८२ सालको भदौ २४ गते। देशका लागि त्यो दिन इतिहासकै एउटा भयावह दिन बन्यो। राज्यका महत्वपूर्ण संरचनादेखि व्यावसायिक प्रतिष्ठान र नागरिकका निजी सम्पत्तिसम्म आगोको लपेटामा परे। कतिपय संरचना जलेर खरानी भए, कतिपय लुटिए र कतिपयको अस्तित्व नै मेटियो। भदौ २३ गते तत्कालीन सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थी तथा युवामाथि भएको गोली प्रहारपछि उत्पन्न आक्रोश भदौ २४ गते देशभर विस्फोट भयो। आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटले देशलाई ठूलो आर्थिक तथा भौतिक क्षति पुर्यायो। आन्दोलनको भीडमा स्वार्थपूर्ति र आपराधिक घुसपैठसमेत भएको आरोप लाग्यो।
त्यो राष्ट्रिय घटनाबाट नवलपरासी पनि अछुतो रहन सकेन।जिल्लाका विभिन्न स्थानमा सरकारी कार्यालयदेखि निजी घर, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय तथा संघसंस्थाका संरचनासम्म आगजनी र तोडफोड भए। चारैतिर दनदनी बलिरहेको आगो, धुवाँले ढाकिएको आकाश र क्षतविक्षत संरचनाको त्यो कारुणिक दृश्य नवलपरासीवासीले अझै बिर्सन सकेका छैनन्।सरकारी सम्पत्तिसँगै नागरिकका वर्षौंको मेहनत र पसिनाले जोडिएका निजी सम्पत्तिसमेत क्षणभरमै खरानी बने। घरभित्र रहेका गरगहना तथा अन्य जिन्सी सामानसमेत चोरी भए।
घटनाको निशानामा प्रतिनिधिसभा सदस्य विनोद चौधरी, पूर्वमन्त्री हृदयेश त्रिपाठी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम खनाल,पुर्व साम्सद सरिता भुसाल, बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्र प्रकाश उपाध्याय,पूर्वनगरप्रमुख धिरज शर्मा बस्याल तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठक लगायतका नेताका घर तथा संरचना परे। निर्माण सम्पन्न हुने चरणमा पुगेको पूर्वनगरप्रमुख बस्यालको नयाँ घरमा परिवार सर्न समेत नपाउँदै आगजनी भयो। उनको निजी विद्यालयका केही संरचनासमेत जलाईए। घर तथा विद्यालयको पुनर्निर्माणमा मात्रै ६० लाख रुपैयाँभन्दा बढी खर्च भएको बस्याल बताउँछन्।
बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठको रुपाकोट पार्टी प्यालेस आगजनीबाट पूर्णरूपमा ध्वस्त भयो। उनको घरमा समेत तोडफोड भयो। श्रेष्ठका अनुसार घरबाट करिब १६ तोला गरगहना चोरी भएको थियो।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम खनालको घर आगलागीबाट पूर्णरूपमा क्षतिग्रस्त भएपछि अहिले उक्त घर भत्काएर नयाँ घर निर्माण गरिएको छ। नयाँ घर निर्माणसमेत सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ। प्रदेशसभा सदस्य विश्वप्रेम पाठकको घरमा रहेका फर्निचरलगायतका सामान बाहिर निकालेर आगो लगाइएको थियो। तत्कालीन प्रतिनिधिसभा सदस्य सरिता भुसाल तथा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायको घरसमेत तोडफोड र आगजनीबाट अछुतो रहन सकेन।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको घर पूर्णरूपमा जलेर खरानी भयो। अहिले उक्त घरको पुनर्निर्माण गरिएको छ। यादव परिवार विस्तारै सामान्य जीवनमा फर्किन थालेको छ, तर भदौ २४ को त्यो घटनाले दिएको घाउको छाप भने अझै मेटिएको छैन।आज एक बर्ष पुगेकै दिन उनले सामाजिक सन्जालमा लेखेका छन (आज कै दिन प्रतापपुर गाउँपालिका सहित देश भरकै सार्वजनिक तथा निजी सम्पतीहरूमा राजनीतिक प्रतिसोधको आधारमा तोड़फोड़ ,लूटपाट र आगजनी गर्ने विध्वंशकारी कार्य हरूमा संग्लनहरुको सम्बधमा निकट भविष्यमैं राष्ट्रीय मानवधिकार आयोगको प्रतिबेदन तथा उपलब्ध सबूत प्रमाणअनुसार कानूनी प्रक्रिया अगाड़ी बढ़ने पुर्ण बिस्वाश लिएका छौ ।।
आगोले घर मात्र जलाएन, धेरै परिवारको आर्थिक आधारसमेत हल्लाइदियो।घर तथा संरचना जलाईएका नेतृत्वको अहिले पनि एउटै प्रश्न छ—यदि हामीले भ्रष्टाचार गरेर सम्पत्ति कमाएका थियौँ भने छानबिन हुनुपर्थ्यो, कानुनी दायरामा ल्याइनुपर्थ्यो। तर मेहनत, परिश्रम तथा ऋणधन गरेर जोडेको सम्पत्ति किन खरानी बनाइयो । प्रदेशसभा सदस्य विश्वप्रेम पाठक र बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार उनीहरू अहिले पनि ऋणको भारीमा छन्। आगजनीबाट ध्वस्त संरचना पुनर्निर्माण त परैको कुरा जलेका सम्पतिको ऋणको भारले आर्थिक रूपमा ठूलो दबाब सिर्जना गरेको उनीहरूको भनाइ छ।आर्थिक रुपमा सांसद बिक्रम खनालको अवस्था पनि कमजोर छ,जेन तेन साथिभाई र ईष्ट मित्रको सहयोगमा उनले नयाँ आवास निर्माण गरिरहेको बताईन्छ ।
नगरप्रमुख श्रेष्ठ भन्छ्न , “हाम्रो सम्पत्ति आज–भोलि कहिले बैंकले लिलाम गर्छ, थाहा छैन। ऋणको भारीले उठ्न नसक्ने भएका छौँ। हाम्रा संरचना जलाईए, ऋणले आफैँ उठिबास हुने अवस्थामा पुगेका छौँ। त्यो घटनाले हामीलाई ठूलो पीडा दियो। हामी पुनः उठ्न सक्ने अवस्थामा नै छैनौँ।” तर, पीडाका बाबजुद श्रेष्ठ प्रतिशोधको बाटो नरोजिएको बताउँछन्।पुर्व साम्सद सरिता भुसाल र प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले भने घटना पछि कानुनी उपचार खोजेनन उजुर बाजुर गरेरन ।ूहामिले मुद्दा नै हालेनौ तर मुद्दा हालेका साथिहरुलाई फिर्ताका लागि पहल गर्यौ,घटना घटेपछी पनि कसै प्रती मेरो प्रतिशोध छैनपाठकले भने । “हामीले त्यो घाउमा मल्हम लगाउँदै कसैसँग प्रतिशोध राखिनु हुँदैन भन्ने हेतुले सबैका मुद्दा फिर्ता लियौँ। यो घटनाले सबैलाई पाठ सिकाओस्,” उनीहरु भन्छन्।
पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका नेता हृदयेश त्रिपाठीको घरसमेत आगजनीबाट ध्वस्त भएको थियो। उनका छोराले सञ्चालन गर्दै आएको कारखानासमेत आगलागीमा परेर जलेको थियो। हालै त्रिपाठीले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्दै सामाजिक सञ्जालमा आफूले घर र कारखाना गुमाएकाले त्यसभन्दा बढी सहयोग गर्न नसकेको उल्लेख गरेका थिए। उनको उक्त अभिव्यक्तिले आफैँ ठूलो क्षति व्यहोरेका नागरिकको पीडासमेत प्रतिबिम्बित गरेको छ।भदौ २४ गते नवलपरासीमा भएको जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट २७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिल्लास्थित सुरक्षा समितिको तथ्यांक छ। त्यसमध्ये १६ करोड रुपैयाँभन्दा बढीको निजी सम्पत्ति ध्वस्त भएको जनाइएको छ।
नवलपरासी १ बाट निर्वाचित पुर्व साम्सद बिनोद चौधरीले बर्दघाट ७ मा रहेको उनको आगलागी बाट जिर्ण बनेको सचिवालयमा उभिएर कसैप्रती पुर्वाग्रह र प्रतिशोध नभएको र युवाहरूको मागलाई सम्बोधन गरी राजनीतिमा युवा पुस्तालाई अघि सार्नु पर्ने बताएका थिए । जिल्लामा राजनीतिक दल तथा विभिन्न संघसंस्थाको ५२ लाख रुपैयाँभन्दा बढी र १० करोड रुपैयाँभन्दा बढीको सरकारी सम्पत्ति क्षतिग्रस्त भएको सुरक्षा समितिले जनाएको छ।
जिल्लास्थित सुरक्षा समितिका अनुसार भदौ २४ गते नवलपरासीमा सरकारी तथा निजी संरचना, राजनीतिक दलका कार्यालय र विभिन्न संघसंस्थासहित करिब ६३ वटा संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो। एक वर्ष पुग्न लाग्दा पनि ती घटनाका निशानाहरू मेटिएका छैनन्। कतै नयाँ संरचना ठडिएका छन्, कतै पुनर्निर्माण जारी छ। तर, खरानीमाथि उभिएका ती नयाँ संरचनाभित्र अझै पनि पुरानो पीडा जीवित छ।
भदौ २४ ले नवलपरासीलाई एउटा कठोर पाठ सिकाएको छ ।आक्रोशले संरचना जलाउन सक्छ, तर खरानीबाट जीवन उठाउन वर्षौं लाग्छ। राजनीतिक असहमति र आक्रोशको मूल्य निर्दोष नागरिकको मेहनत, सम्पत्ति र भविष्यले चुकाउनुपर्ने अवस्था फेरि नआओस् भन्ने चाहना अहिले सबैको छ। नवलपरासी खरानीबाट उठ्ने कोसिसमा छ। संरचना फेरि बन्दैछन्, जीवन फेरि लयमा फर्किंदैछ। तर उनिहरुका लागि उनिहरुकै भनाईमा त्यो कालो दिनको घाउ पूर्णरूपमा निको हुन अझै समय लाग्नेछ।