Butwal Today

चिलिमे जलविद्युत् गृहमा फसेका ६ जनाको उद्धारका लागि खोजी तीव्र

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

रसुवा । भोटेकोसी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत् गृहमा फसेका कर्मचारी र मजदुरको उद्धारका लागि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली तथा विदेशी विज्ञसहितको टोली विद्युत् गृहभित्र पुगेर फसेका ६ जनाको अवस्था पत्ता लगाई सकुशल उद्धार गर्ने प्रयासमा जुटेको छ।

विद्युत् गृहभित्र जमेको लेदो हटाउने कामलाई जनशक्ति थप गरी तीव्रता दिइएको कम्पनीले जनाएको छ। सुरुङ छिचोल्दै उद्धार टोली विद्युत् गृहसम्म पुग्ने प्रयासमा छ। टोली अब विद्युत् गृहसम्म पुग्न करिब २०० मिटर दूरीमा रहेको बताइएको छ। त्यस्तै, स्याफ्रुबेँसीदेखि चिलिमे विद्युत् गृहको पोर्टलसम्म सडक जोड्ने काम पनि चौबीसै घण्टा भइरहेको छ। सडक निर्माणका लागि आवश्यक थप अपरेटर, मेसिन तथा स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ। आवश्यक स्थानमा विस्फोटक पदार्थ प्रयोग गरी सडक खुलाउने तयारीसमेत गरिएको कम्पनीले जनाएको छ।

धुन्चेतर्फको विद्युत् चिलिमे विद्युत् गृहसम्म पुर्‍याउन ड्रोनको सहायताले पाइलट वायर जोडिएको छ। साथै, धुन्चेको एबीसी केबलबाट स्याफ्रुसम्म आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। उद्धार अभियानमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसहित नेपाली तथा विदेशी विज्ञहरूको टोली सहभागी छ।

विद्युत् गृह करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको रहेको बताइएको छ। विद्युत् गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा प्रकाशका लागि ठूलो ब्याट्री बैंकसहित आवश्यक खाद्य तथा अन्य सामग्री राखिएको जनाइएको छ।विद्युत् गृहभित्र ६ जना रहेको अनुमान गरिएको छ। उनीहरूको अवस्था यकिन गर्न र सकुशल उद्धार गर्न खोज तथा उद्धार टोली निरन्तर परिचालन गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?