© 2026
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समिति बैठकमा विशेष प्रस्ताव पेस गरेका छन्।आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टीभित्रको आन्तरिक एकता र महाधिवेशनको सुनिश्चितताका लागि केसीले विशेष प्रस्ताव पेस गरेका हुन्।पार्टीभित्र देखिएको विवाद समाधान गरी आसन्न १५औँ महाधिवेशन आगामी कार्तिक १७(१९ मा सार्न नेता केसीले प्रस्ताव अगाडि सारेका छन्। आफ्नो प्रस्तावमाथि गम्भीर विचार(विमर्श र संवाद हुनुपर्ने नेता केसीको माग छ। विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो र हालको समितिलाई समायोजन गरिनुपर्ने पार्टीको विधानका केही धारा निलम्बन गरेर भए पनि सहमति जुटाउनुपर्ने केसीको प्रस्तावमा उल्लेख छ।
केसीले गरेका पाँच बुँदे प्रस्ताव
१) कार्यसम्पादन समितिको एकीकरणः विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो र हालको कार्यसम्पादन समितिलाई पार्टी सभापतिको नेतृत्वमा एकीकृत समायोजन गरिनुपर्ने।
२) केन्द्रीय समितिको आकार विस्तारः विधानको सम्बन्धित धारा निलम्बन गरी आपसी परामर्श र आवश्यकताका आधारमा केन्द्रीय कार्यसमितिको संख्या बढाउने।
३) कार्यसम्पादन समितिलाई महाधिवेशनको सम्पूर्ण अधिकारः केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निष्पक्ष महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई प्रत्यायोजन गर्ने।
४) समितिहरूको पुनर्गठनः निष्पक्ष महाधिवेशनको प्रत्याभूति दिलाउन कार्यसम्पादन समितिले नै महाधिवेशन तयारीका लागि आवश्यक निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यकताअनुसार थपघट गर्ने।
५) कात्तिक १७–१९ मा १५औँ महाधिवेशनः १५औँ महाधिवेशनको अन्तिम मिति सर्वसम्मतरूपमा आगामी कात्तिक १७ देखि १९ गतेसम्मका लागि तोक्ने र उक्त कार्यतालिका कुनै पनि बहानामा नसार्ने गरी समितिले पूर्ण प्रतिबद्धता जनाउनुपर्ने।