Butwal Today

उपेन्द्र यादव सहभागी कार्यक्रम नेता–कार्यकर्ताद्वारा बहिष्कार

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

नवलपरासी । जनता समाजवादी पार्टी नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा आइतबार परासीमा विवाद भएको छ। जसपा नवलपरासीले यादवलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी परासीमा ‘अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम’ आयोजना गरेको थियो। मन्तव्यका क्रममा यादवसँग भनाभन भएपछि तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नवलपरासीका जिल्ला नेतासहितका कार्यकर्ताले कार्यक्रम बहिष्कार गरेका छन्।

अध्यक्ष यादवले मन्तव्य दिएपछि कार्यक्रमका अध्यक्षसमेत रहेका जसपा जिल्ला अध्यक्ष मुकुर गिरीले समापन मन्तव्य राख्ने क्रममा विवाद उत्पन्न भएको थियो। गिरी तत्कालीन लोसपाका जिल्ला अध्यक्ष हुन। गिरीले अध्यक्ष यादवको मन्तव्यप्रति असन्तुष्टि जनाउँदै मधेश आन्दोलनदेखि भएका सबै आन्दोलन आफूले मात्र गरेको जस्तो अभिव्यक्ति दिएर अन्य नेता–कार्यकर्ताको मानमर्दन गर्न नहुने बताए। उनले हालै गठन भएको २ सय ७९ सदस्यीय केन्द्रीय समितिमा मधेश प्रदेशका आठ जिल्लाबाट २ सय ११ भन्दा बढी सदस्य राखिएको, तर १२ जिल्ला रहेको लुम्बिनी प्रदेशबाट १८ जनालाई मात्र समेटेर पक्षपात गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

गिरीले अध्यक्ष यादवले लुम्बिनी प्रदेशलाई सधैँ ‘गुलाम’को व्यवहार गर्ने गरेको आरोपसमेत लगाए। उनको अभिव्यक्तिपछि अध्यक्ष यादव आक्रोशित हुँदै जथाभावी नबोल्न चेतावनी दिएपछि कार्यक्रम केही समय अस्तव्यस्त बनेको थियो। गिरीले प्रदेशलाई जानकारी नदिई लुम्बिनी प्रदेशका चार सांसदलाई आफूखुसी कारबाही गरेको भन्दै आक्रोश पोखे। पार्टीको नीतिविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको आरोपमा जसपाले शनिबार सांसदहरू सन्तोषकुमार पाण्डे, हेमा बेल्वासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई पार्टीबाट निष्कासन गरेको थियो।

कार्यक्रमपछि गिरीले अध्यक्ष यादवले लुम्बिनी प्रदेशलाई उपनिवेशका रूपमा व्यवहार गरेको आरोप लगाए। उपेन्द्रजीले लुम्बिनी प्रदेशलाई उपनिवेश सम्झनुभएको छ। आफूखुसी गर्न पाउनुहुन्न भन्दा उपेन्द्रजीले “यो बोल्न पाउनुहुन्न” भन्दै प्रतिवाद गर्न आउनुभयो। त्यसपछि तत्कालीन लोसपाका ३०–४० जना नेता–कार्यकर्ताले कार्यक्रम बहिष्कार गरेर हिँड्यौँ,’ गिरीले भने। यसैबीच लुम्बिनी प्रदेशका चार सांसदलाई पार्टीबाट निष्कासन गरेपछि तत्कालीन लोसपाका नेता तथा कार्यकर्ताबीच असन्तुष्टि थप चुलिएको छ।

कारबाहीमा परेका जसपाका संसदीय दलका नेतासमेत रहेका सन्तोष पाण्डेले सामाजिक सञ्जालमार्फत उपेन्द्र यादवलाई लुम्बिनी प्रदेशबाट ‘बहिष्कार गरौँ’ भन्दै आक्रोश व्यक्त गरेका छन। उपेन्द्र यादवलाई साथ दिनेलाई समेत अब बहिष्कार गरौँ। दैलोबाट लखेट्न सुरु गरौँ,’ उनले लेखेका छन।

उपेन्द्र यादवले जहिले पनि हैकमवादी शैलीमा पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाउँदै दुई–तीन दिनभित्र तत्कालीन लोसपाका नेता तथा कार्यकर्ताको छुट्टै बैठक बसेर केन्द्रीय नेता महन्थ ठाकुरलाई जानकारी दिने गिरीले बताए। महन्थ ठाकुर नेतृत्वको लोसपा र यादव नेतृत्वको जसपा समायोजन भएपछि यादव अध्यक्ष र ठाकुर संरक्षकका रूपमा रहेका छन । तर, समायोजनपछि लुम्बिनी प्रदेशका तत्कालीन लोसपाका नेता तथा कार्यकर्तामा असन्तुष्टि देखिन थालेको छ।

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले लुम्बिनी प्रदेश भौगोलिक रूपमा विचित्र खालको रहेको बताए। पार्टीभित्र बसेर अन्य पार्टीलाई सहयोग गरेकाहरूलाई पार्टीले कारबाही गरेको उनको भनाइ थियो। उनले विकेन्द्रीकरणविपरीत अहिले सबै निर्णय एकै ठाउँबाट भइरहेको र त्यसले संघीयता तथा लोकतन्त्रमाथि हमला गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?