© 2026
काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला बीभत्स दृश्य, अपुष्ट सूचना तथा पीडितको गोपनीयता उल्लंघन हुने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। काउन्सिलले भदौ १९ गते जारी गरेको ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ मा सही, पुष्टि भएको र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन सञ्चारमाध्यमलाई निर्देशन दिएको हो।
निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति, जोखिम क्षेत्र र उद्धारसम्बन्धी सूचना आधिकारिक वा विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र सम्प्रेषण गर्नुपर्नेछ। काउन्सिलले क्षतविक्षत शव, शरीरका अंग देखिने दृश्य, अत्यधिक रक्ताम्मे तस्बिर, मृतकको अनुहार तथा गम्भीर घाइतेको पीडादायी क्लोजअपजस्ता सामग्री सामान्यतः प्रकाशन वा प्रसारण नगर्न भनेको छ।
त्यस्तै, शोकमा रहेका परिवार तथा बालबालिकाका निजी दृश्यको गोपनीयता र सम्मान कायम गर्न आग्रह गरिएको छ। संवेदनशील दृश्य प्रयोग गर्नैपर्ने अवस्था आएमा अनुहार वा पहिचान ढाक्ने, दृश्य सीमित गर्ने र आवश्यक पूर्वसूचना दिने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। काउन्सिलले फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्सलगायत डिजिटल प्लेटफर्मका थम्बनेल, कभर र अटोप्ले प्रिभ्युमा समेत बीभत्स दृश्य प्रयोग नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
विपद्का समाचारमा उद्धार, राहत, स्वास्थ्य सेवा, पूर्वचेतावनी र पुनःस्थापनासम्बन्धी जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन तथा एआई र सामाजिक सञ्जालबाट प्राप्त सामग्री सावधानीपूर्वक प्रयोग गर्न पनि काउन्सिलले भनेको छ।