© 2026
बुटवल । दुग्ध विकास संस्थान डिडिसीका दुग्धजन्य उत्पादन उपभोक्तामाझ सहज रूपमा पुर्याउने उद्देश्यले बुटवलमा निजी क्षेत्रको लगानीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको छ । बुटवलको राजमार्ग चौराहमा रहेको मावली भान्सा घरबाट डिडिसीको स्वीकृतिमा आउटलेट सञ्चालनमा ल्याइएको हो । नयाँ आउटलेटको उद्घाटन दुग्ध विकास संस्थान, लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलका लुम्बिनी–गण्डकी प्रदेश बजार व्यवस्थापन प्रमुख अयुव अली खानले गरे । आउटलेटमा दूध, दही, मही, आइसक्रिम, पनिर, चिज, घ्यू, रसबरी, नौनी, बटरलगायत डिडिसीका विभिन्न दुग्धजन्य उत्पादन उपलब्ध हुनेछन् ।
उद्घाटन कार्यक्रममा खानले स्थानीय उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राख्दै डिडिसीका उत्पादनको पहुँच विस्तार गर्न निजी क्षेत्रलाई बिक्री केन्द्र सञ्चालनको अनुमति दिइएको बताए । उनका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न शहरमा डिडिसीका सेल्स काउन्टर तथा आउटलेट विस्तार गर्ने योजना अघि बढाइएको छ । ग्रामीण तथा बजार क्षेत्रका उपभोक्तासम्म डिडिसीका उत्पादन पुर्याउन निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिइएको उनले बताए ।
खानका अनुसार डिडिसीका दुग्धजन्य उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । माग बढे पनि अहिले दूध उत्पादन तुलनात्मक रूपमा कम रहेकाले बजारको मागअनुसार दुग्धजन्य पदार्थ उपलब्ध गराउन केही कठिनाइ भइरहेको उनले बताए । चाडपर्वको समयमा दूध तथा दुग्धजन्य पदार्थको खपत थप बढ्ने भएकाले माग व्यवस्थापन चुनौतीपूर्ण बनेको डिडिसीको भनाइ छ । यही अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशका विभिन्न स्थानमा थप बिक्री केन्द्र सञ्चालनको तयारी गरिएको खानले जानकारी दिए ।
उनका अनुसार बर्दघाट, भूमही, चौराहा, सुख्खानगर, अमरपथ, तिलोत्तमा, योगिकुटी, बुटवल हाटबजार, चन्द्रौटा, लुम्बिनी र भैरहवालगायत स्थानमा निजी क्षेत्रको लगानीमा डिडिसीका आउटलेट विस्तार गर्ने योजना छ । बजारमा डिडिसीका उत्पादनको पहुँच विस्तार हुँदा उपभोक्ताले सहज रूपमा गुणस्तरीय दुग्धजन्य पदार्थ खरिद गर्न पाउने र किसानले उत्पादन गरेको दूधको बजारसमेत सुनिश्चित गर्न सहयोग पुग्ने संस्थाको अपेक्षा छ । निजी क्षेत्रसँगको सहकार्यबाट बजार विस्तारसँगै युवाहरूलाई व्यवसायमा जोडिने अवसरसमेत सिर्जना हुने खानको भनाइ छ ।
स्थानीयस्तरमा बिक्री केन्द्रको संख्या बढ्दै गए डिडिसीका उत्पादनको बिक्री बढ्नुका साथै किसानबाट खरिद गरिने दूधको परिमाणसमेत वृद्धि गर्न सकिने संस्थाले जनाएको छ । यसले एकातर्फ उपभोक्तालाई सहज आपूर्ति र अर्कोतर्फ दूध उत्पादक किसानलाई बजारको सुनिश्चितता दिने अपेक्षा गरिएको छ । नयाँ आउटलेटका सञ्चालक राजेन्द्र पौडेलले डिडिसीका उत्पादन उपभोक्ताको पहुँचमा सहज रूपमा पुर्याउने उद्देश्यले बिक्री केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
उनले व्यावसायिक नाफाभन्दा पनि स्थानीय उपभोक्तालाई ताजा र गुणस्तरीय डिडिसीका उत्पादन उपलब्ध गराउने उद्देश्यलाई प्राथमिकता दिइएको बताए । डिडिसीले निजी क्षेत्रसँगको सहकार्यमा बिक्री केन्द्र विस्तार गर्दै गएमा दुग्धजन्य पदार्थको बजार थप फराकिलो हुने र स्थानीय किसानले उत्पादन गरेको दूधको खपतसमेत बढ्ने अपेक्षा गरिएको छ ।