© 2026
रसुवा । नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक जनाको शव निकालेको छ ।
खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहेका स्थानीयवासी शेषनाथ भट्टराईका अनुसार विदेशी विज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट एक जनाको शव निकालेको हो ।
उनका अनुसार सोही जलविद्युत् आयोजनाका दुई कर्मचारीलाई आज बिहान जीवितै उद्धार गरेपछि उद्धार टोली थप उत्साहित भएर खोजी कार्यमा जुटेको छ । सुरुङभित्र नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित चिनियाँ र अमेरिकी विज्ञसमेत खटिएका छन् ।
यसैबीच, रसुवाका बाढी प्रभावित क्षेत्रमा मौसम बदली भई बादल लागे पनि हेलिकप्टरमार्फत खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरणको काम तीव्र पारिएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याउने कार्य भइरहेको जानकारी दिए ।