© 2026
सिद्धार्थनगर । चार दशकअघि भीम अस्पतालका दुई कोठाबाट सुरु भएको आँखा उपचार सेवा अहिले दैनिक करिब १ हजार ५०० बिरामीले सेवा लिने अवस्थामा पुगेको छ ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा श्री रणअम्बिका आँखा अस्पतालले पछिल्लो एक वर्षमा तीन लाख ८७ हजारभन्दा बढी बिरामीको आँखा परीक्षण गर्नुका साथै ३९ हजारभन्दा बढी शल्यक्रिया गरेको जनाएको छ ।
बुद्धिजीवी, समाजसेवी र स्थानीय समुदायको पहलमा सुरु भएको आँखा उपचार सेवा विस्तार हुँदै अहिले विशेषज्ञ उपचार, जटिल शल्यक्रिया र आँखा स्वास्थ्यसम्बन्धी अध्ययन–अध्यापनसमेत हुने संस्थाका रूपमा विकसित भएको हो । संस्थानमा लुम्बिनी प्रदेशसहित नेपालका विभिन्न जिल्लाबाट तथा सीमावर्ती भारतको बिहार र उत्तर प्रदेशबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।
संस्थानका उपव्यवस्थापक तुलसीप्रसाद पराजुलीका अनुसार संस्थानले उपचार सेवासँगै विशेषज्ञ जनशक्ति उत्पादन र ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायसम्म आँखा उपचारको पहुँच विस्तारलाई प्राथमिकता दिँदै आएको छ ।
संस्थानमा सामान्य आँखा परीक्षणदेखि जटिल शल्यक्रियासम्मका सेवा उपलब्ध छन् । १६ वर्षमुनिका बालबालिकाका लागि छुट्टै बाल आँखा विशेषज्ञबाट परीक्षण तथा उपचारको व्यवस्था गरिएको छ ।
बालबालिकामा देखिने दृष्टिदोष, मायोपिया, अष्टिग्माटिजम र आँखाको डेढोपनलगायत समस्याको पहिचान तथा उपचार हुने गरेको छ । रेटिनासम्बन्धी रोगका लागि पनि विशेषज्ञ सेवा सञ्चालनमा छ । पर्दा फाट्ने, भिट्रियसमा समस्या हुने तथा मधुमेहका कारण आँखाको पर्दामा असर गर्ने डायबेटिक रेटिनोप्याथीलगायत समस्याको लेजर तथा शल्यक्रियाबाट उपचार हुने पराजुलीले बताए ।
त्यसैगरी जलबिन्दु (ग्लोकोमा), कोर्नियासम्बन्धी समस्या र आँखाको नानीमा देखिने विभिन्न समस्याको विशेषज्ञ उपचार हुने गरेको छ । आवश्यक बिरामीका लागि कोर्निया प्रत्यारोपण तथा नानी फेर्ने शल्यक्रियासमेत संस्थानमै हुने गरेको छ ।
आँखाको ढकनी, परेला तथा बाहिरी संरचनासँग सम्बन्धित समस्या र पुनर्निर्माणका लागि अकुलोप्लास्टिक शल्यक्रियाको सुविधासमेत उपलब्ध छ । आँखाको ढकनी उठाउने, परेलाको समस्या सुधार गर्ने तथा अन्य सौन्दर्य र पुनर्निर्माणसम्बन्धी शल्यक्रिया यसअन्तर्गत हुने संस्थानले जनाएको छ ।
पछिल्लो समय मोबाइल, कम्प्युटर तथा अन्य डिजिटल उपकरणको बढ्दो प्रयोगसँगै देखिएको ‘ड्राई आई’को समस्या परीक्षण तथा उपचारको व्यवस्था पनि संस्थानमा गरिएको छ । आँखाको अवस्थाको विस्तृत परीक्षणका लागि पेन्टाक्यामलगायत आधुनिक उपकरण प्रयोग भइरहेको पराजुलीले बताए ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानले आँखा उपचारसँगै विशेषज्ञ जनशक्ति उत्पादनलाई पनि आफ्नो प्रमुख जिम्मेवारीका रूपमा अघि बढाएको छ । एमडी उत्तीर्ण चिकित्सकलाई रेटिना, कोर्निया, अकुलोप्लास्टिक, ग्लोकोमा र बाल आँखा रोगलगायत विधामा फेलोसिप अध्ययनको अवसर दिइँदै आएको छ । एमबीबीएस उत्तीर्ण चिकित्सकलाई छनोट प्रक्रियामार्फत एमडी अध्ययन गराउने व्यवस्था रहेको संस्थानले जनाएको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादनका लागि पनि शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । प्लस टु विज्ञान उत्तीर्ण विद्यार्थीका लागि ब्याचलर इन अप्टोमेट्री तथा एसएलसी/एसईई उत्तीर्णका लागि डिप्लोमा इन अफ्थाल्मिक साइन्स अर्थात् अफ्थाल्मिक असिस्टेन्टसम्बन्धी अध्ययनको व्यवस्था गरिएको छ ।
बिरामीलाई उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले रूपन्देहीका १६ वटै स्थानीय तहमा आँखा उपचार सेवा विस्तार गर्ने संस्थानले नीति लिएको छ । हालसम्म जिल्लाका १० स्थानीय तहमा शाखा सञ्चालनमा आइसकेका छन् ।
कञ्चन गाउँपालिकामा बुटवल लायन्ससँगको प्राविधिक सहकार्यमा आँखा उपचार सेवा सञ्चालन भइरहेको छ । कपिलवस्तुको कृष्णनगरमा सातामा एक दिन शल्यक्रियासहितको सेवा उपलब्ध छ भने तौलिहवामा पनि शाखा सञ्चालनमा रहेको संस्थानले जनाएको छ ।
पहाडी जिल्लातर्फ गुल्मी सदरमुकामसहित धुर्कोट, अर्घाखाँची तथा पाल्पाको रामपुर र तानसेनलगायत क्षेत्रमा आँखा उपचार केन्द्र तथा शाखा सञ्चालनमा छन् । ती केन्द्रबाट स्थानीय स्तरमै आँखा परीक्षण र आवश्यक उपचार सेवा उपलब्ध गराइँदै आएको छ ।
संस्थानका अनुसार नयाँ शाखा विस्तार गर्दा कम्तीमा ४० देखि ५० हजार जनसङ्ख्या भएको क्षेत्रलाई प्राथमिक आधार मान्ने गरिएको छ । सेवा विस्तार भए पनि आर्थिक अवस्था कमजोर हुनु, अस्पतालसम्म आउन सहयोगी व्यक्ति नहुनु र भौगोलिक दूरीका कारण अझै पनि कतिपय बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन् ।
विशेष गरी उपचार गर्नुपर्ने अवस्थामा रहेका मोतियाबिन्दुका बिरामीसमेत विभिन्न कारणले अस्पतालसम्म आउन नसकेको संस्थानको अध्ययनले देखाएको पराजुलीले बताए । आर्थिक अभावका कारण आँखाको उपचारबाट कोही वञ्चित नहोस् भन्ने उद्देश्यले संस्थानले विपन्न तथा असहाय बिरामीका लागि सहुलियत र निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।
बिरामीको आर्थिक अवस्था हेरेर पूर्ण वा आंशिक छुट दिने गरिएको छ । आवश्यकताअनुसार बिरामीलाई क्यान्टिनमा खानाको व्यवस्था तथा पूर्ण निःशुल्क उपचारसमेत उपलब्ध गराइने संस्थानले जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत १० प्रतिशत निःशुल्क उपचारको दायित्व पूरा गर्दै आएको पराजुलीले बताए ।
आँखाको समस्या समयमै उपचार हुन नसक्दा व्यक्तिको दैनिक जीवन, रोजगारी र परिवारको आर्थिक अवस्थासमेत प्रभावित हुने भएकाले आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुन नदिन सहुलियतलाई निरन्तरता दिइएको उनको भनाइ छ ।
आँखा उपचारको पहुँच विस्तार भए पनि अझै दुर्गम क्षेत्र र आर्थिक रूपमा कमजोर समुदायसम्म सेवा पु¥याउनु चुनौती रहेको संस्थानले जनाएको छ । विशेष गरी मोतियाबिन्दु र दृष्टिदोषका कारण हुने दृष्टिविहीनता न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा परीक्षण, उपचार र जनचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने आवश्यकता रहेको संस्थानको भनाइ छ ।
चार दशकअघि दुई कोठाबाट सुरु भएको सेवा अहिले दैनिक १ हजार ५०० बिरामीसम्म पुग्नुले आँखा उपचारको आवश्यकता र सेवाप्रतिको नागरिकको विश्वास बढेको देखाएको छ । संस्थानले आगामी दिनमा शाखा विस्तार, विशेषज्ञ सेवा, आँखा शिविर तथा शैक्षिक कार्यक्रमलाई सँगसँगै अघि बढाउने जनाएको छ ।