© 2026
सल्यान । सल्यानमा सडकका खाल्डाखुल्डी र चिराका कारण सर्वसाधारणले सास्ती खेपिरहेका बेला सन्त निरंकारी मिसनका स्वयंसेवकहरू आफैँ सडक मर्मतमा जुटेका छन् । सरकारी निकायको भर परेर सडकको दुर्दशा हेरेर बस्नुभन्दा समुदाय आफैँ आफ्नो ठाउँको समस्या समाधानमा अग्रसर हुनुपर्ने सोचका साथ छत्रेश्वरी गाउँपालिकामा स्वयंसेवकहरूले सडक मर्मत सुरु गरेका हुन् ।
सन्त निरंकारी मिसन सिंगारीकोटको आयोजनामा शुक्रबारदेखि संखमुल झिम्पे जयचौर हुँदै खर्सुबास सडकखण्ड अन्तर्गत पेदिखोला कैँचीमोडदेखि सिंगारीकोटसम्मको सडक मर्मत थालिएको हो । वर्षायामसँगै सडकमा खाल्डाखुल्डी पर्नुका साथै विभिन्न ठाउँमा चिरा परेपछि स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई आवतजावतमा समस्या हुँदै आएको थियो ।
त्यसलाई मध्यनजर गर्दै मिसनका स्वयंसेवकहरू श्रमदानसहित सडक मर्मतमा खटिएका हुन् । मर्मतका क्रममा सडकमा परेका खाल्डाखुल्डी पुर्ने, चिरा परेको भाग मर्मत गर्ने तथा सवारीसाधन र पैदल यात्रुको आवतजावत सहज बनाउने काम भइरहेको सिंगारीकोट सत्संग इन्चार्ज रुपलाल गिरीले जानकारी दिए । उनका अनुसार मर्मतको काम सम्पन्न गर्न अझै एक दिन लाग्नेछ । सडक मर्मतमा छत्रेश्वरी गाउँपालिका, ३ का वडा सदस्य निमबहादुर बुढा, बुद्धिजीवी जगत पुनलगायत सन्त निरंकारी मिसनका स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।
स्थानीय पूर्वाधारको संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समुदाय आफैँ समस्या समाधानमा अग्रसर भएको मिसनले जनाएको छ । सन्त निरंकारी मिसनले धार्मिक गतिविधिसँगै मानव कल्याण, सामाजिक सेवा तथा स्थानीय समुदायको हितमा विभिन्न श्रमदान र सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।