© 2026
काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रममा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बाढी आएको पहिलो दिनदेखि नै सहयोग आइरहेको छ । कार्यालयका अनुसार भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको छ । भारतले हालसम्म ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । साथै, उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटाइरहेको छ । चीनले नेपाललाई रु ३० करोड र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ । साथै, नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ ।
पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ । श्रीलङ्काले १० लाख अमेरिकी डलरको सहयोगको प्रतिबद्धता जनाएको छ । बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ ।अमेरिकाबाट ५ लाख अमेरिकी डलर दिने प्रतिबद्धता आएको छ । अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर ९ नगद सहयोग सहयोगको प्रतिबद्धता आएको छ भने विशेषज्ञसहित ड्रोन अपरेटरसहितको टोली चाँडै नेपाल आउने भएको छ । यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारले पनि ४० टन राहत सामग्री उपलब्ध गराएको छ ।
संयुक्त अधिराज्य यूकेले ५ मिलियन पाउण्डले सहयोग गर्ने घोषणा गरेको छ। त्यसैगरी, युरोपेली सङ्घअन्तर्गतको नागरिक सुरक्षा र मानवीय सहायता परिचालनले २ मिलियन यूरो, स्विट्जरल्याण्डले १ मिलियन अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २ मिलियन अमेरिकी डलर, आयरल्याण्डले ५ लाख यूरो, चेक रिपब्लिकले २५ लाख चेक कोरुना, नर्वेले १२.७ मिलियन नर्वेजियन क्रोन सहयोगको घोषणा गरिसकेका छन्। साथै, फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । यस्तै, लक्जेम्बर्ग र लातभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन् ।