© 2026
चन्द्रौटा। कारागारका अग्ला पर्खालभित्र उनीहरूको संसार बेग्लै छ । तर, भोटेकोशी बाढीले ल्याएको पीडाले ती पर्खाल नाघेर उनीहरूको मन छोयो । कपिलवस्तु कारागारका कैदीबन्दीहरूले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् । विपद्मा परेका नागरिकप्रति मानवीय ऐक्यबद्धता जनाउँदै १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । उनीहरूले आफ्नो क्षमताअनुसार रकम जुटाएका छन् ।
कैदीबन्दीहरूबाट संकलित ६६ हजार रुपैयाँ र कारागारका चौकीदार प्रेमनाथ त्रिपाठीले व्यक्तिगत रूपमा दिएको ३५ हजार १ सय ११ रुपैयाँ जोडेर सहयोग जुटाइएको जनाइएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई भौचर हस्तान्तरण गरिएको छ । कारागारभित्र रहेका उनीहरूसँग आफ्नै सीमितता छन् ।
बाहिर निस्केर पीडितको घरदैलोमा पुग्न सक्ने अवस्था छैन । तर, दुःखमा परेका नागरिकलाई केही राहत पुगोस् भन्ने चाहनाले उनीहरूलाई सहयोगका लागि हातेमालो गर्न प्रेरित गरेको हो । हाल कपिलवस्तु कारागारका दुई ब्लकमा हाल ४२२ कैदीबन्दी रहेका छन् ।